Skip to main content

नेपाललाई लिग २ क्रिकेटमा लगातार दोस्रो हार

नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल लगातार दोस्रो खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १५७ रनमा अलआउट भएको थियो जसमा आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। ७ साउन, काठमाडौं।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो। नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले अविजित ६१ रन बनाए। नोआ क्रोस ३४ रनमा अविजित रहे।

नेपालका लागि सोमपाल कामी, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-२ विकेट लिए। एक विकेट रनआउटमार्फत आयो। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रनमा अलआउट भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग पनि यही योगफलमा समेटिएको थियो। आजको खेलमा आरिफ शेखले ९० बल खेलेर सर्वाधिक ४१ रन बनाए। गुल्शन झाले २९ तथा दीपेन्द्रसिंह ऐरीले २१ रन बनाए।

नेदरल्यान्ड्सका लागि रोलफ भान डर मर्वेले ६.४ ओभरमा १५ रन मात्र दिएर ३ विकेट लिए। एलेक्स रोयले ८ ओभरमा २४ रन दिएर ३ विकेट लिए। लोगान भान विकले २ तथा काइल क्लेइनले १ विकेट लिए। यो जितपछि लिग २ अंकतालिकामा नेदरल्यान्ड्सको २९ खेलमा ३४ अंक भएको छ। नेपालको ३० खेलबाट २४ अंक छ। नेपालले अब शृङ्खलाको तेस्रो खेल आगामी सोमबार नामिबियासँग खेल्ने छ। त्यसअघि शनिबार नेदरल्यान्ड्स र नामिबिया प्रतिस्पर्धा गर्नेछन्। नेपाल शृङ्खलाको पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो।