Skip to main content

भारतको हिमाचल प्रदेशमा जिपमाथि पहिरो खसेर १३ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशको कडु नालामा पहिरो खस्दा जिपमा रहेका १३ जनाको मृत्यु भएको छ। हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंहले भने, ‘टाटा सुमो गाडीमा ढुंगा खस्दा १३ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको खबर सुनेर म अत्यन्तै दुःखी छु।’ उनले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि लाहौल र स्पितीका अधिकारीहरूलाई निर्देशन दिएका छन्।

उदयपुर-किलाड सडकमा कडु नाला नजिकै पहिरो खसेको थियो, जसले कुल्लुबाट पांगी जाँदै गरेको जिपलाई प्रभावित गर्यो। लाहौल-स्पितीकी प्रहरी अधिकृत शिवानी मेहलाले १३ जनाको मृत्यु भएको पुष्टि गरेकी छन्। मुख्यमन्त्री सुखविन्दर सिंहले इन्स्टाग्राममा घटनाप्रति दुःख व्यक्त गर्दै लेखेका छन्, ‘प्रियजन गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। यस कठिन समयमा शोकसन्तप्त परिवारहरूसँग मेरो गहिरो समवेदना छ।’