
निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतबाट स्वदेश फर्कने घोषणा गरेपछि बाङ्ग्लादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले पदबाट राजीनामा दिन लागेका छन्। शाहबुद्दिन हसिनाका पूर्व सहयोगी हुन् र उनी सन् २०२३ मा राष्ट्रपति बनेका थिए। केही दिनअघि शेख हसिनाले समाचार संस्था रोएटर्ससँग कुराकानी गर्दै आफू बाङ्ग्लादेश फर्किने बताएकी थिइन्। त्यसको केही दिनपछि शाहबुद्दिनले सम्भावित राजीनामा दिने खबर आएको छ।
बाङ्ग्लादेशमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनमा दमन गरेको आरोपमा हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। त्यस आन्दोलनको उत्कर्षमा पुगेपछि शेख हसिना भारत पलायन भएकी थिइन्। नयाँ निर्वाचनपछि सत्तामा आएको बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टीका नेताहरूले शाहबुद्दिनलाई पदत्याग गर्न दबाव दिँदै आएका छन्।
राष्ट्रपतिको राजीनामा बुझ्न सभामुख स्वदेश फर्कदैएक वरिष्ठ अधिकारीले बताएअनुसार शाहबुद्दिन संसद्का सभामुखलाई आफ्नो राजीनामा बुझाउने योजना बनाइरहेका छन्। औषधोपचारका लागि थाईल्याण्ड गएका सभामुख हाफिज उद्दिन अहमद आफ्नो भ्रमण छोटो गर्दै शुक्रबार स्वदेश फर्कने तयारीमा छन्। स्रोतहरूले संकेत दिएका छन् कि शाहबुद्दिनले राजीनामापत्रमा स्वास्थ्य सम्बन्धी कारण उल्लेख गर्न सक्छन्।
शाहबुद्दिनका प्रवक्ताले रोएटर्सलाई बताएका छन् कि राष्ट्रपतिले शुक्रबार राजीनामा दिने अपेक्षा गरिएको छ। यद्यपि गृहमन्त्री सलाहुद्दिन अहमदले बिहीबार पत्रकारसँग भनेका छन् कि सरकारले राष्ट्रपतिलाई कुनै दबाब दिएको छैन र संविधानले राष्ट्रपतिलाई चाहेको बेला राजीनामा दिने अधिकार दिएको छ।






