राष्ट्रिय लिग र महिला लिगसहितका रोकिएका प्रतियोगिताहरू सुरु गर्न क्लबहरूको माग

सहिद स्मारक लिगका २१ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको बाह्य हस्तक्षेप अन्त्य गरी फिफाको निलम्बन तुरुन्तै फुकुवा गर्न माग गरेका छन्। क्लबहरूले जारी गरेको विज्ञप्तिमा निलम्बनका कारण हजारौँ खेलाडी, प्रशिक्षक र निर्णायक प्रभावित भएको उल्लेख गरिएको छ। उनीहरूले एन्फाको निर्वाचन प्रक्रिया सुरु गर्न र रोकिएका राष्ट्रिय तथा महिला लिग प्रतियोगिताहरू यथाशीघ्र सञ्चालन गर्न सरकारलाई दबाब दिएका छन्।
८ साउन, काठमाडौं। सहिद स्मारक लिगअन्तर्गतका २१ क्लबहरूले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निलम्बनले हजारौं नेपाली फुटबल खेलाडी, प्रशिक्षक, निर्णायक तथा फुटबलमा निर्भर व्यक्तिहरूलाई गम्भीर असर पारेको बताएका छन्। फिफाबाट निलम्बन भएको लामो समय बित्दा पनि सम्बन्धित निकायबाट फुकुवा तर्फ कुनै ठोस कदम नचालिएको क्लबले विज्ञप्तिमा बताएका छन्। उनीहरूले एनफाको निर्वाचन तत्काल सम्पन्न गर्न आग्रह गरेका छन्। साथै रोकिएका राष्ट्रिय लिग, महिला लिग, यु १८ लिग फुटबल प्रतियोगिताहरू समेत तुरुन्त सुरु गर्न उनीहरूको माग छ।






