
८ साउन, चितवन । पछिल्लो समय बर्डफ्लु नियन्त्रणतर्फ सकारात्मक प्रगति भएको व्यवसायीहरूले बताएका छन्। बर्डफ्लुको संक्रमण देखिएपछि सरकारी क्षेत्रबाट प्रभावकारी रुपमा गरिएका कार्यहरूको कारण संक्रमण नियन्त्रणमा आएको व्यवसायीहरूले जनाएका छन्। संक्रमण नियन्त्रणका लागि सचेतना र आवश्यक सावधानी अपनाएकाले धेरै क्षति हुनबाट रोकिएको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए। उनका अनुसार कुखुरापालक सङ्घ र नेपाल ह्याचरी उद्योग सङ्घ केन्द्रीय समितिले पशु सेवा विभागलाई लिखित धन्यवाद दिएको छ। ‘सबै कर्मचारीको समूह अहोरात्र खटिएर बर्डफ्लु नियन्त्रणतर्फ काम गरेको साथै आमसमुदायमा नकारात्मक प्रभाव नपर्नसक्ने गरी सचेतनामूलक सूचना सम्प्रेषण र सावधानी अपनाएर देशको आत्मनिर्भर व्यवसायलाई धराशयी हुनबाट बचाउन गरिदिएको योगदान अतुलनीय छ,’ धन्यावाद पत्रमा उल्लेख गरिएको छ।
सङ्घका अध्यक्ष पोखरेलले विभागले गरेका पहल र निरन्तरको योगदानको कारण पोल्ट्री क्षेत्रमा थप क्षति हुनबाट जोगिएको बताए। किसान र व्यवसायीलाई समस्या आएमा तदारुकता पूर्वक सम्बोधन गर्न सके कम क्षतिमा समाधान हुने उदाहरण अहिले सफल भएको उनले बताए। नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले पशु सेवा विभागका महानिर्देशकसहितको टोलीलाई भेट गरी बर्डफ्लु नियन्त्रणमा गरेको सक्रियताप्रति आभार प्रकट गरेका छन्। उनले करिब ९९.९९ प्रतिशत रोग नियन्त्रण भएको र अन्य ठाउँमा संक्रमण नदेखिएको उल्लेख गरे।
नेपालको कृषि क्षेत्रमा आत्मनिर्भर एक मात्र व्यवसाय पोल्ट्री हो, जुन व्यवसायीकरण र आधुनिकीकरण हुँदै देशको कुल घरेलु उत्पादनको करिब तीन प्रतिशत हिस्सा ओगटेको जनाउँदै सङ्घका केन्द्रीय अध्यक्ष लामिछानेले प्रत्यक्ष रूपमा पाँच लाख जनालाई रोजगारी दिएको बताए। नेपालको पोल्ट्री व्यवसाय क्षेत्रमा करिब एक खर्ब ६० अर्ब रुपैयाँ लगानी रहेको उल्लेख गर्दै यसको संरक्षणमा राज्यको उचित पहल आवश्यक रहेको उनले जोड दिए। व्यवसायीहरूले साउन १ गतेयता नेपालमा बर्डफ्लु संक्रमण देखिएको छैन भनि जानकारी दिए।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार यस वर्ष नेपालभर आठ लाख ३५ हजार ५६३टा पन्छी नष्ट गरिएको छ। ११ लाख ६५ हजार ६६३ अण्डा र दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको समेत जानकारी दिए। काठमाडौं उपत्यका र काभ्रेको मात्र क्षेत्रमा तीन लाख ६७ हजार ८३५ पन्छी नष्ट गरिएको पनि उनले बताएका छन्। महानिर्देशक दाहालले प्रभावित कृषकलाई सरकारले तत्काल राहत उपलब्ध गराएको जानकारी दिए। ५० करोड रुपैयाँ रकम बजेटमा थप भई ५२ करोड रुपैयाँ व्यवस्थापन भएको बताउँदै हालसम्म १०४ जना कृषक र फार्मका खातामा ५० करोड ७१ लाख १५ हजार ७०४ रुपैयाँ राहत वितरण भइसकेको उनले बताए। ‘देशभर रहेका पन्छी रोग अनुसन्धान प्रयोगशालाहरूले तीव्र गतिमा परीक्षण अगाडि बढाएका छन्। सरकारले देखाएको तदारुकता र किसानको सहयोगका कारण बर्डफ्लु नियन्त्रणमा आएको हो। अब थप संक्रमणको संभावना कम छ’, उनले भने। संक्रमण घटेपछि कुखुराको अण्डा र मासुको खपत बढ्न थालेको छ भने किसानले पनि उचित मूल्य पाउन थालेका छन्। पहिले संक्रमणका कारण मूल्य घट्दा किसान प्रभावित भएका थिए, चल्ला बिक्री नहुँदा नष्ट गर्ने बाध्यता समेत आउँथ्यो।






