
भारतको दिल्लीस्थित जन्तरमन्तरमा राखिएका अवरोधहरूको ठीक अगाडि एउटा परिवारले चिसो लस्सी र महीका प्याकेटहरू बाँडिरहेको छ। मिनु फोगाट विगत केही दिनदेखि आफ्ना श्रीमान् र १८ वर्षीया छोरीसँगै यहाँ आइरहेकी छिन्। कुनै पनि विरोध प्रदर्शनमा उनी सहभागी भएको यो पहिलो पटक भएको उनले बताइन्। “हाम्रो छोरा आईआईटीमा पढ्छ, तर हामी यी सबै विद्यार्थीहरूको सङ्घर्षमा साथ दिन यहाँ आएका हौँ। फोनमा रील शेअर गरेर मात्र पुग्दैन। हामी घरबाट बाहिर निस्कनैपर्छ,” उनले भनिन्। मिनु फोगाटका श्रीमान् उत्तर दिल्लीमा मिठाई पसल चलाउँछन्। पछिल्ला केही दिनयता पसलको जिम्मा कामदारलाई सुम्पेर उनको पूरै परिवार जन्तरमन्तर आइरहेको छ। मलाई २०० ग्रामको लस्सीको प्याकेट दिँदै उनले भनेः “तपाईँ पनि अलिकति लिनूस्, धेरै गर्मी छ।” म जुलाई २१ तारिखका दिन जन्तरमन्तर पुग्दा सबैभन्दा पहिले मेरो सामना यही दृश्यसँग भयो र धेरै हिसाबले यसले सिङ्गो आन्दोलनको एउटा बृहत् तस्वीर प्रस्तुत गर्छ।
समाचार च्यानल र पत्रपत्रिकाहरूमा मात्र विरोध प्रदर्शनबारे देखेका वा सुनेका र कहिल्यै नजिकबाट यस्ता दृश्य नदेखेका सर्वसाधारणहरू अहिले यो आन्दोलनमा एकजुट भएर एकअर्काको सहारा बनिरहेका छन्। संसद् भवनबाट केही मिटरको दूरीमा रहेको जन्तरमन्तर अहिले नरेन्द्र मोदी सरकारको तेस्रो कार्यकालमा उसले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौतीको केन्द्रबिन्दु बनेको छ। यी सबै घटनाक्रमको केन्द्रमा कक्रोच जनता पार्टी र अभियानकर्मी सोनम वाङ्चुक छन्, जो २६ दिनसम्म आमरण अनशन बसेका थिए। कक्रोच जनता पार्टी कसरी अस्तित्वमा आयो भन्नेबारे तपाईँहरूले धेरै पटक सुन्नुभएको र पढ्नुभएको छ। अहिले यहाँ हजारौँ मानिसहरू भेला भएका छन्। उनीहरूको माग प्लेकार्डहरूमा प्रस्ट रूपमा देखिन्छ र नाराहरूमा गुञ्जिरहेको छः “धमेन्द्र प्रधान, राजीनामा देऊ।”
तर यो साता जे भयो। त्यसबाट यो प्रदर्शनको मुख्य माग, त्यसलाई लिएर अनशन र जुन मोडमा अनि जसरी अनशन तोडियो, यी सबै एकअर्कासँग पृथक देखिँदै छन्। के भनियो, कसरी यो आन्दोलनले गति लियो र अहिले के भइरहेको छ? यी सबैबीच एउटा खाडल देखिन्छ र यति बेला यो प्रदर्शनले अलगअलग स्वरूपमाझ बाटो खोजिरहेको जस्तो देखिन्छ। सोनम वाङ्चुकले बिहीवार मध्यराति स्वास्थ्यमन्त्री जेपी नड्डा र केन्द्रीय राज्यमन्त्री जितेन्द्र सिंहको उपस्थितिमा आफ्नो २६ दिने अनशन तोडे। त्यसअनुसार शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्ने मानिसहरूविरुद्ध सरकारले एफआईआर दायर गर्ने छैन। सरकारले नीट परीक्षाको प्रश्नपत्र बाहिरिएको र शिक्षा प्रणालीमा सुधार ल्याउने उपायहरूबारे संसद्मा छलफल गर्नेछ।
आगामी दिशाबारे अन्योल अब करिब एक महिनाअघि यी विरोध प्रदर्शन र आमरण अनशनका कारण बनेका मागहरूबारे चर्चा गरौँ। शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्छ। नीट प्रश्नपत्र चुहावटका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारले एक करोड रुपैयाँ क्षतिपूर्ति पाउनुपर्छ। सीजेपीका तिनै मागहरूको समर्थनमा वाङ्चुकले जुन २८ तारिखमा सीजेपीकै मञ्चबाट अनशन शुरू गरे। त्यस बेलाको एउटा अन्तर्वार्ताका क्रममा एक जना व्यक्तिको राजीनामाले मात्र के परिवर्तन ल्याउँछ भन्ने प्रश्नको जबाफमा उनले भनेका थिए, “यसले जबाफदेहिता स्थापित गर्नेछ।” वाङ्चुकले आफ्नो अनशन अन्त्य गरेपछि कुरा गर्दै सीजेपीका प्रवक्ता आशुतोष राङ्काले मसँग भनेका थिए: “हामी उहाँले अनशन अन्त्य गरेको चाहन्थ्यौँ। धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म विरोध प्रदर्शन जारी रहने छ भन्ने कुरा हामीले स्पष्ट रूपमा बताएका छौँ।”






