भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए, कक्रोच जनता पार्टीको प्रतिक्रिया

भारतमा कक्रोच जनता पार्टी (सीजेपी)को नेतृत्वमा जारी आन्दोलनबीच शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा प्रस्तुत गरेका छन्। प्रश्नपत्र चुहावटको विषयलाई लिएर सीजेपीले एक महिनादेखि निरन्तर उनी राजीनामा देओस् भनी माग गर्दै आएको थियो। धर्मेन्द्र प्रधानले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाको घोषणा गरेपछि सीजेपीले यसलाई स्वागत गरेको छ। तर सो समूहका संस्थापकले भने उनीहरूको संघर्ष अझै सकिएको छैन भनी बताएका छन्।
शिक्षामन्त्रीको राजीनामा आफ्नो एक मुख्य माग भए पनि सीजेपीले आन्दोलनमार्फत भारतको शिक्षा प्रणालीको समग्र पुनर्संरचनाको माग गर्दै आएको छ। यसमा परीक्षा पत्र चुहावटको विषयमा उच्च तहको जवाफदेहिता खोजिएको छ। सामाजिक सञ्जाल एक्समा राजीनामाको घोषणा गर्दै प्रधानले लेखेका छन्, “जन्तरमन्तरमा र देशमा जे परिस्थिति सिर्जना भएको छ त्यसको फाइदा देश विरोधी शक्तिहरूले नउठाऊन्। देशको एकता कायम रहोस्, भारतका कुनै पनि विद्यार्थीको भविष्य कानुनी झमेलामा नपरोस्।” उनले थप लेखेका छन्, “हाम्रा बच्चाहरूले आफ्नो समय अध्ययनमा लगाएका हुन्, करिअरमा ध्यान दिन सकून्। यी कुरालाई सोच्दै मैले आफ्नो राजीनामाको पत्र सम्माननीय प्रधानमन्त्रीलाई पठाएको छु।”
सीजेपीले शिक्षामन्त्रीको राजीनामालाई आफ्नो आन्दोलनको ठूलो विजयको रुपमा स्वीकारेको छ। भारतको शिक्षामन्त्रीलाई पदबाट हटाउनु त्यस समूहको प्रमुख माग थियो। त्यसमाथि “कुनै सम्झौता हुँदैन” भनी सीजेपीका नेताहरूले बारम्बार बताएका थिए। “कक्रोचहरूले जिते। प्रजातन्त्रले जित्यो!” सीजेपीले सामाजिक सञ्जाल एक्समा आफ्नो एक पोस्टमा उल्लेख गरेको छ। सीजेपीका संस्थापक अभिजित दीप्केले भनेका छन्, “हामीले देखाएका छौं। धर्मेन्द्र प्रधानले राजीनामा दिए।”
धर्मेन्द्र प्रधानले भनेका छन्, “४० वर्षभन्दा बढी समयदेखि म विद्यार्थी, शिक्षक र शिक्षा सुधारमा समर्पित छु। सशक्त, समावेशी र दूरदर्शी शिक्षा प्रणाली नै एक सशक्त राष्ट्रको आधारशिला हो भन्ने कुरामा म सधैं विश्वास गर्छु।” उनले भनेका छन्, “म देशका युवाहरूको आशा, भावना र उचित अपेक्षाहरूको उच्च सम्मान गर्छु। भारतका युवापुस्ताका सपना पूरा गर्नु हाम्रो सामूहिक राजनीतिक र सामाजिक जीवनको नैतिक जिम्मेवारी हो।”
कांग्रेससहित सबै विपक्षी पार्टीहरूले धर्मेन्द्र प्रधानको राजीनामाको मागलाई समर्थन गरेका थिए। भारतका १०० बढी अग्रणी लेखक, कलाकार र बुद्धिजीवीहरूले पारदर्शिता, जवाफदेहिता र व्यापक सुधारको माग गर्दै विद्यार्थीहरूको समर्थनमा संयुक्त विज्ञप्ति पनि जारी गरेका थिए। उक्त विज्ञप्तिमा प्रश्नपत्र चुहावट र परीक्षा प्रक्रियामा भएको निरन्तर अनियमितताले सार्वजनिक संस्थाहरुको विश्वसनीयता माथि प्रश्न उठाएको जनाइएको छ।






