Skip to main content

फ्रान्स र स्पेनमा विकराल डढेलो, २ लाख ५० हजारभन्दा बढी विस्थापित

दक्षिण पश्चिम फ्रान्स र स्पेनमा फैलिएको विकराल डढेलोका कारण २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। फ्रान्सको गिरोन्दे र लान्देस क्षेत्रमा फैलिएको आगो नियन्त्रणका लागि सरकारले सेना परिचालन गरेको छ भने राष्ट्रपति इमानुएल म्याक्रोनले तत्कालीन बैठक बोलाएका छन्। स्पेनमा आपतकाल घोषणा गरिएको छ र डढेलोका कारण म्याड्रिड तथा आविला क्षेत्रबाट ६० हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। १० साउन, काठमाडौं।

दक्षिण पश्चिम फ्रान्स र स्पेनमा फैलिएको विकराल डढेलो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू कठिन संघर्ष गरिरहेका छन्। तीव्र हावा र उच्च तापक्रमका कारण आगो थप फैलिँदै जाँदा फ्रान्सको बोर्डो सहर समेत जोखिममा परेको छ। फ्रान्सका एक अधिकारीले आगलागी अझै नियन्त्रणमा आउन धेरै समय लाग्ने संकेत गर्दै भनेका छन्, ‘हामी आगो नियन्त्रणको अवस्थाबाट अझै धेरै टाढा छौं।’

डढेलोका कारण फ्रान्स र स्पेनमा हालसम्म २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएको बताइएको छ। फ्रान्समा बोर्डोको पश्चिमी भागका सात नगरपालिकाका बासिन्दाहरुलाई शनिबार राति घर छाड्न निर्देशन दिइएको थियो। बोर्डो नजिकै आगो, धुवाँले सहर ढाकियो शनिबार बिहानसम्म डढेलो बोर्डोबाट करिब ४० देखि ५० किलोमिटर टाढा पुगेको थियो।

स्पेनमा मौसमले केही राहत दिलाएको छ र डढेलोका कारण आपतकाल घोषणा गरिएको छ। राजधानी म्याड्रिड आसपासको क्षेत्रमा मौसम सुधार भएकोले डढेलो नियन्त्रणमा केही सहजता आएको अधिकारीहरूले बताएका छन्। क्षेत्रीय सरकारले हावा कम चलेको, आद्रता बढेको र तापक्रम घटेकाले आगोको तीव्रता कम भएको जनाएको छ। प्रधानमन्त्री पेद्रो सान्चेजले अहिले डढेलो नियन्त्रणका लागि ‘महत्वपूर्ण अवसर’ प्राप्त भएको भनेका छन्, तर आगामी दिन अझ चुनौतीपूर्ण हुने स्वीकार गरेका छन्।