Skip to main content

विश्वकप क्रिकेट लिग २: ग्लोबल क्वालिफायरमा सिधै पुग्न नेपालको बाटो कठिन

गत बैशाखमा काठमाडौंमा सम्पन्न आइसीसी विश्वकप लिग २ का दुई चरणमा ६ खेल जितेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली उत्साहित थियो। अहिले नेदरल्यान्ड्स पुगेपछि टोलीको आत्मविश्वास फेरि डगमगाएको छ। नेदरल्यान्ड्समा जारी आइसीसी विश्वकप लिग २ को सातौँ चरणमा नामिभिया र नेदरल्यान्ड्ससँग लगातार २ खेलमा पराजित भएपछि नेपालको विश्वकप ग्लोबल क्वालिफायरमा सिधै प्रवेश गर्ने यात्रा कठिन भएको छ। साथै नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पनि संकटमा परेको छ।

नेदरल्यान्ड्स भ्रमणलाई नेपालको एक दिवसीय विश्वकप ग्लोबल क्वालिफायरमा पुग्ने अन्तिम अवसरको रुपमा हेरिएको थियो। तर टोलीले दुई खेलबाट चार अंक गुमाइसकेको छ। नेपालको अंक तालिकामा हाल २४ अंक छ र टोली पाँचौँ स्थानमा छ। माथिल्लो स्थानमा रहेका टोलीहरूको स्थितिलाई हेर्दा नेपालको माथि उठ्ने सम्भावना कम देखिएको छ। शीर्ष चार टोलीले मात्र ग्लोबल क्वालिफायरमा सिधै प्रवेश पाउनेछन्।

विश्वकप लिग २ मा नेपालले अब जम्मा ६ खेल मात्र खेल्न बाँकी छ। आठ राष्ट्र सहभागी विश्वकप लिग २ मा सबै टोलीले ३६ खेल खेल्ने प्रावधान छ। जसमा ३० खेल खेलेको नेपाल अहिले २४ अंकका साथ पाँचौँ स्थानमा छ। ३२ खेल खेलेको अमेरिका ४३ अंकका साथ पहिलो स्थानमा छ भने त्यति नै खेल खेलेको स्कटल्यान्ड ३८ अंकका साथ दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले २९ खेलबाट ३४ अंक जोडेको छ भने २८ खेलबाट ३१ अंक बटुलेको ओमन चौथो स्थानमा छ। नेपालसँग समान २४ अंक सहित क्यानडा छैटौँ र नामिभिया सातौँ स्थानमा छन्।

नेपाललाई अर्को मौका बाँकी छ। लिग २ मा शीर्ष ४ मा नपरेका टोलीहरूले क्वालिफायर प्ले अफ खेल्ने छन्। प्ले अफमा च्यालेन्ज लिग खेलिरहेका ४ टोली र लिग २ बाट झरेका ४ गरी जम्मा ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ। समग्रमा, नेपालले शीर्ष ४ मा रहनको लागि जारी चरणका कम्तीमा दुई खेल जीत्नु पर्नेछ र त्यसपछि अन्तिम चरणमा राम्रो प्रदर्शन गर्नुपर्नेछ।