Skip to main content

दक्षिण कोरियाली विद्यार्थीहरूले नेपालका सामुदायिक विद्यालयहरूमा सहयोग पुऱ्याउँदै

दक्षिण कोरियाका १९ विश्वविद्यालयका २६ जना विद्यार्थीहरूको टोलीले नेपालका सामुदायिक विद्यालयहरूको शैक्षिक वातावरण सुधार्न श्रमदान गर्दैछ। यो टोलीले भक्तपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यालय भवनको रंगरोगन, पानी निकास मर्मत र बाल उद्यान निर्माण गरिसकेको छ। कोरियाली विद्यार्थीहरूले आगामी मंगलबारदेखि काभ्रे जिल्लास्थित श्वेत वराह माध्यमिक विद्यालयमा आफ्नो स्वयंसेवा कार्यक्रम जारी राख्ने तयारी गरेका छन्।

दक्षिण कोरियाको सरकारी संस्था ‘सेमाउल सेन्टर कोरिया’ (नयाँ गाउँ अभियान) मार्फत स्वयंसेवा गर्न साउन ४ गते नेपाल आएका २६ विद्यार्थी र प्रतिनिधिको टोली हाल भक्तपुर र काभ्रे जिल्लाका सामुदायिक विद्यालयहरूमा कार्यरत छन्। टोलीले विद्यालयका कक्षाकोठाहरू रंगरोगन गर्ने, पानी निकास मर्मत तथा नयाँ निर्माण गर्ने र बालबालिकाका लागि खेलमैदान निर्माण गर्ने जस्ता भौतिक सुधारका कामहरू गरिरहेका छन्।

यी भौतिक पूर्वाधारमा सुधारका साथै उनीहरूले नेपाली विद्यार्थीका लागि सीप विकास र स्वास्थ्य जनचेतना सम्बन्धी विविध कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छन्। यसै क्रममा, आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका–८, थाकलमाठमा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यालय भवनको मर्मत, रंगरोगन र कृत्रिम घाँस सहितको बाल उद्यान निर्माण सम्पन्न भएको छ। काम सम्पन्नको अवसर पारेर विद्यालयले एउटा विशेष समारोह आयोजना गरी कोरियाली स्वयंसेवक टोलीलाई धन्यवाद ज्ञापन गर्दै बिदाइ गरेको छ। भक्तपुरमा काम सकिएपछि उक्त टोलीले आगामी मंगलबारदेखि काभ्रे जिल्ला स्थित श्वेत वराह माध्यमिक विद्यालयमा पुगेर आफ्नो स्वयंसेवा क्रम निरन्तरता दिने योजना बनाएको छ।