Skip to main content

माइतीघरमा डुबानको समस्या: प्राविधिक त्रुटि र जलप्रवाह क्षेत्रमा अतिक्रमणका कारण

समाचार सारांश प्राविधिक समीक्षा पश्चात तयार। माइतीघर क्षेत्रमा बर्खा मौसममा हुने डुबानको मुख्य कारण इन्जिनियरिङ त्रुटि, ढल अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको नाश भएको प्राविधिक अध्ययनले देखाएको छ। ढलको पाइप साँघुरिँदा पानीको बहाव रोकिएर सडकमा जाम (बोटलनेकिङ) समस्या र टुकुचा खोलाको पानी उल्टो बग्ने समस्याले डुबान निम्त्याएको छ। डुबानको समाधानका लागि जमिनमुनि ठूलो पानी भण्डारण ट्याङ्की बनाउने, ढलको क्षमता पुनः डिजाइन गर्ने लगायत दीर्घकालीन उपायहरू प्रतिवेदनमा सुझाइएको छ।

१० साउन, काठमाडौं। माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा डुबान हुनुको मुख्य कारण आसपासका पूर्वाधार निर्माणमा भएको प्राविधिक त्रुटि, जलप्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको छ भन्ने तथ्य अध्ययनले देखाएको छ। झरी सुरु भएपछि उक्त क्षेत्र डुबानमा परेपछि साउन ५ गते काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनमा संलग्न निकायका प्रमुख र प्रतिनिधिहरूको अनुगमन भएको थियो। अनुगमनपछि सुनिता डंगोलले सम्बन्धित कार्यालयका कर्मचारीहरूबाट प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिइन्।

कार्यवाहक प्रमुखको निर्देशनअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर के.सी. को संयोजकत्वमा गठन गरिएको समितिले स्थलगत प्रतिवेदन तयार पारेको हो। टोलीमा महानगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन रेग्मी, सडक विभागका इञ्जिनियर पुरुषोत्तम भण्डारी, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्वल श्रेष्ठ लगायत थिए।

प्रतिवेदन अनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि पाइएको छ। क्षेत्र प्रवेश गर्ने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटर व्यासको पाइप छ भने तल्लो भागमा त्यो ६० सेन्टिमिटरमा साँघुरिएको छ। माथिल्लो भागबाट आउने पानीको दबाव तल्लो भागको साँघुरो पाइपले सहन नसक्दा ‘बोटलनेकिङ’ समस्या देखिएको र सडकमा पानी फैलिने समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ। यस्तै, टुकुचा खोलाको सतह बढ्दा ढलले पानी खोलामा जानुपर्छ तर पानी उल्टो बस्ती र सडक तर्फ फर्कने (ब्याक फ्लो) समस्या हुँदा पनि माइतीघर डुबान हुने गरेको छ।

भौतिक पूर्वाधारसहित वातावरणीय र सहरी विकास तथा व्यवस्थापनका कारणहरूलाई पनि यो समस्या बढाउने कारणहरूका रूपमा प्रतिवेदनले चिन्हित गरेको छ। पहिले माइतीघर चोक छेउका खुला क्षेत्रहरूले प्राकृतिक जलाधारको भूमिका निर्वाह गर्दै वर्षाको पानी जमिनमुनि सोस्न मद्दत गर्थे। तर जिल्ला प्रहरी परिसर काठमाडौं र सरकारी वकिल कार्यालय जस्ता ठूलो भवनहरू बन्ने क्रममा यस्ता क्षेत्रहरू कंक्रीटले ढाकिएका छन्, जसले पानी सोस्ने प्राकृतिक प्रक्रियालाई बन्द गरेको छ। त्यसैले सतहमा पानीको मात्रामा अत्यधिक वृद्धि भयो र त्यो सिधै माइतीघर चोकमा केन्द्रित हुने गर्दछ भन्ने निष्कर्ष प्राविधिक टोलीले निकालेको छ।

अतिक्रमण समस्याले समेत डुबानमा भूमिका खेलेको छ। अनुगमनका क्रममा कतिपय स्थानमा ढलभित्र व्यक्तिगत तथा सरकारी भवनका संरचना बन्न पुगेको पाइयो जसले नियमित सरसफाइमा अवरोध पुर्‍याएको छ। ढल पाइपमा प्लास्टिक फोहर, बोतल र ढुङ्गा–गिट्टी जमिरहँदा पानीको बहाव अवरुद्ध भएको छ। यो समस्या समाधान गर्न कार्यवाहक प्रमुख डंगोलले स्थानीय प्रशासन र साझेदार निकायहरूसँग मिलेर सबै अवरोध हटाउन निर्देशन दिईन।

प्रतिवेदनले तत्काल र दीर्घकालीन रुपमा चालिनुपर्ने कदमहरू सुझाएको छ। तत्कालको लागि ढल निकास मार्गमा रहेका अवरोध हटाउने, म्यानहोलहरूको उचाइ बढाउने र नियमित सरसफाइलाई प्राथमिकतामा राख्न भनिएको छ। दीर्घकालीन समाधानका लागि माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गाभित्र जमिनमुनि ठूलो क्षमताको पानी भण्डारण ट्याङ्की निर्माण गर्ने सुझाव दिइएको छ। यसले वर्षाको अधिक पानीलाई केही समयका लागि भण्डारण गरी पछि क्रमशः निकास दिन सहयोग गर्नेछ।

टुकुचा खोलाको निकास बिन्दुमा पानी फिर्ता हुन नदिने ‘नन रिटर्न भल्भ’ जडान गर्ने, उपत्यकाको सम्पूर्ण ढल सञ्जालको जीआईएस म्यापिङ गर्ने र माइतीघर क्षेत्रको क्याचमेन्ट क्षेत्र अनुसार ढलको क्षमता पुनः डिजाइन गर्ने कुरामा पनि जोड दिइएको छ। सडक, खानेपानी, ढल र विद्युतजस्ता निकायहरू बीच समन्वयको कमीले एकअर्काले बनाउने र खन्ने दोहोरिने परिपाटीलाई अन्त्य गरी एकीकृत प्रणाली विकास आवश्यक रहेको कुरा पनि प्रतिवेदनले प्रमुखता दिएको छ।