
समाचार सारांश: होर्मुज स्ट्रेटमा एउटा तेल ट्यांकर समुद्री माइनमा ठोक्किँदा आगो लागेको छ। यमनका हूती विद्रोहीहरूले साउदी अरबको जजानस्थित तेल रिफाइनरीमाथि तीनवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरेका छन्। बहराइनमा अवस्थित अमेरिकी पाँचौं नौसैनिक बेडाको मुख्यालय इरानले ड्रोन र मिसाइलबाट आक्रमण गरेको दाबी गरिएको छ। ११ साउन, काठमाडौं। स्ट्रेट अफ होर्मुजमा समुद्री माइनमा ठोक्किएपछि एउटा तेल ट्यांकरमा आगो लागेको छ। इरानी समाचार संस्थाका अनुसार, तेहरानले तोकेको समुद्री मार्ग छोडेर अर्को बाटो हुँदै गुज्रिरहेको तेल ट्यांकरले बारूदी सुरुङ (नेभल माइन)मा ठोक्किएको थियो।
इरानले यसअघि नै चेतावनी दिएको थियो कि आफ्नो निउक्त मार्गभन्दा बाहिर जहाज सञ्चालकले त्यसको जिम्मेवारी आफैं लिनुपर्नेछ। तथापि, यस घटनासम्बन्धी अहिलेसम्म इरानी अधिकारीहरूले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। घटनाबाट भएको क्षति वा मानवीय हानीको पुष्टि पनि गरिएको छैन।
फेब्रुअरीदेखि अमेरिका र इरानबीच जारी सैन्य द्वन्द्वका बीच यो पहिलो पटक कुनै जहाज समुद्री माइनमा ठोक्किएको घटना हो। होर्मुज स्ट्रेटमा इरानले द्वन्द्वका क्रममा नेभल माइन बिछ्याएको थियो। युद्धविराम पश्चात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती माइन हटाउन निर्देशन दिएका थिए।
यसैबीच पछिल्लो २४ घण्टामा क्षेत्रीय सुरक्षासँग सम्बन्धित थप पाँच महत्वपूर्ण घटनाहरू सार्वजनिक भएका छन्।






