फ्रान्स र स्पेनमा डढेलो नियन्त्रणमा कठिन संघर्ष, हजारौंलाई सुरक्षित स्थानमा सारियो

फ्रान्सको बोर्डो नजिक फैलिएको भीषण डढेलो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरुले निरन्तर प्रयास गरिरहेका छन्। आगोका कारण वरपरका क्षेत्रबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सका आन्तरिक मामिलामन्त्री लोराँ नुन्यजले उक्त क्षेत्रको अवस्था अझै पनि “अत्यन्त प्रतिकूल” रहेको र आगो “अनियमित रूपमा” बोर्डोतर्फ फैलिरहेको बताएका छन्। यद्यपि अधिकारीहरूले अहिले तत्काल बोर्डो सहर खाली गराउनुपर्ने अवस्था नरहेको बताएका छन्। शनिबार रातिदेखि आइतबार बिहानसम्म बोर्डोको दक्षिणी गाउँहरूबाट करिब ५५ हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उक्त क्षेत्र अङ्गुर खेतीका लागि प्रसिद्ध छ।
गएको एक सातादेखि युरोपका विभिन्न भागमा, विशेषगरी फ्रान्स र स्पेनमा डढेलो फैलिरहेको छ। यी दुई देशमा अहिलेसम्म ३ लाख ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्स डढेलोबाट सबैभन्दा बढी प्रभावित छ। दक्षिणपश्चिमी क्षेत्रमा ४२ हजार हेक्टर वन क्षेत्र नष्ट भइसकेको छ र यसलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो वन डढेलो मानिन्छ। यस वर्षको सुरुदेखि अहिलेसम्म देशभरि ९८ हजार हेक्टरभन्दा बढी वन क्षेत्र आगोको चपेटामा परेको छ। दक्षिणपश्चिम फ्रान्सबाट मात्रै २ लाख २० हजारभन्दा बढी मानिसलाई अन्यत्र सारिएको छ।
स्पेनमा पनि डढेलो अझै फैलिरहेको छ। मड्रिड र अविला वरपरका क्षेत्रहरूबाट ९०,००० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आगलागीबाट करिब ७७,००० हेक्टर क्षेत्र प्रभावित भएको अधिकारीहरूले जनाएका छन्। मड्रिडमा रहेका पर्यटकहरूले विमानस्थल नजिकै आगो र धुवाँ देखिएको बताएका छन्। न्यूजिल्यान्डबाट आएका एक जोडीले शहरस्थित आफ्नै होटलसम्म पनि धुवाँको गन्ध महसुस गरेका छन्। शनिबार एउटा सानो आगलागीमा भ्यालेन्सिया क्षेत्रमा एक सर्वसाधारणको मृत्यु भयो। त्यस्तै, साताको सुरुमा फ्रान्सको बोर्डो नजिकै भीषण आगो निभाउने क्रममा दुई अग्निनियन्त्रकको निधन भएको थियो। फ्रान्सको जिरोन्ड क्षेत्रमा २,५०० भन्दा बढी अग्निनियन्त्रकहरू खटिएका छन्, जसमा एउटा स्विस टोली पनि समावेश छ। साथै ठूलो संख्यामा सेना तथा प्रहरीले मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने, उद्धार कार्यमा सहयोग गर्ने र सुरक्षा व्यवस्था कायम राख्ने काम गरिरहेका छन्।






