Skip to main content

जंगली बिरालो संरक्षणका लागि ‘एक घर, एक करेसाबारी’ कार्यक्रम अन्तर्गत तालिम

बर्दियाको ठाकुरबाबामा रस्टी–स्पटेड क्याट संरक्षणका लागि स्थानीयको जीविकोपार्जनसँग जोडिएको ‘एक घर, एक करेसाबारी’ कार्यक्रम सञ्चालन गरिएको छ। ११ साउन, काठमाडौं। विश्वकै सबैभन्दा सानो जंगली बिरालो मानिने ‘रस्टी–स्पटेड क्याट’ को संरक्षणलाई स्थानीयको जीविकोपार्जनसँग जोड्ने उद्देश्यले बर्दिया जिल्लामा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम सञ्चालन गरिएको छ। ठाकुरबाबा नगरपालिका–९, खुशालपुरमा आयोजना गरिएको कार्यक्रममा १४ जना स्थानीय सहभागी थिए। उनीहरूलाई जैविक तरकारी खेती, कम्पोस्ट मल निर्माण, माटो व्यवस्थापन र दिगो कृषि अभ्यास विषयमा एकदिने तालिम प्रदान गरिएको थियो। तालिमपछि हरेक सहभागीलाई कृषि उपकरण र मौसमी तरकारीका बीउबिजन पनि वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम स्मल वाइल्ड क्याट कन्जर्भेसन फाउन्डेसन (एसडब्लूसीसीएफ), मोहम्मद बिन जायेद स्पिसिज कन्जर्भेसन फन्ड (एमबीजेडएससीएफ) र रस्टी–स्पटेड क्याट वर्किङ ग्रुप–बर्दियाको सहयोगमा सञ्चालन भएको हो। कार्यक्रम संयोजन रामजन चौधरीले गरेका थिए भने तालिम पशु चिकित्सक अशिष चौधरीले दिएका थिए। आयोजकका अनुसार घरघरमा करेसाबारीको विकासले वनजन्य स्रोतमा निर्भरता कम गर्ने, वन क्षेत्रमा हुने मानव चाप घटाउने र यसले वन्यजन्तुको बासस्थान संरक्षणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यसले वन डढेलोको जोखिम घटाउने, अवैध शिकार कम गर्ने तथा रस्टी–स्पटेड क्याटका आहारा प्रजातिको संरक्षणमा सकरात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। रस्टी–स्पटेड क्याट नेपाल, भारत र श्रीलंकामा मात्र पाइने दुर्लभ जंगली बिरालो हो। यसको शरीरको लम्बाइ ३५ देखि ४८ सेन्टिमिटर र तौल ०.९ देखि १.६ किलोसम्म हुन्छ। शरीरमा रहेको खिया रङका साना थोप्ला कारण नेपालमा यसलाई ‘खिया थोप्ले बिरालो’ पनि भनिन्छ। यो बिरालो मुख्य रूपमा राति सक्रिय हुने, एक्लै बस्ने र अत्यन्त लजालु स्वभावको हुन्छ।

मुसा, साना स्तनधारी जनावर, चराचुरुङ्गी, छेपारो, भ्यागुता र कीराफट्याङ्ग्राहरू यसको प्रमुख आहारा हुन्। मुसाको सङ्ख्या नियन्त्रण गरी पारिस्थितिक प्रणाली सन्तुलनमा यसले महत्वपूर्ण भूमिका खेल्ने संरक्षणकर्मीहरूको भनाइ छ। कार्यक्रम संयोजक रामजन चौधरीका अनुसार वि.सं. २०६९ सालमा बर्दिया राष्ट्रिय निकुञ्जमा यस प्रजातिको पहिलो पटक तस्बिरसहित अभिलेखीकरण गरिएको थियो। तालिमका क्रममा सहभागीहरूलाई वन डढेलो नियन्त्रण, अवैध सिकार रोकथाम, वन्यजन्तुको सडक दुर्घटना न्यूनीकरण तथा प्राकृतिक बासस्थान संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो। एसडब्लूसीसीएफ, एमबीजेडएससीएफ र रस्टी–स्पटेड क्याट वर्किङ ग्रुपले बर्दियामा विद्यालयस्तरीय संरक्षण सचेतना, वृक्षारोपण, बासस्थान पुनःस्थापना, होमस्टे प्रवर्द्धन, दिगो कृषि र आयआर्जनमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।