
सुनसरीको देवानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। गृहमन्त्री सुधन गुरुङले सुनसरी घटनाको छानबिनका लागि सहसचिव भुपेन्द्र थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेका छन्। गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गरी आवश्यक रणनीति बनाउन निर्णय गरेको छ। ११ साउन, काठमाडौं।
सिंहदरबारस्थित गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ। केहीबेरदेखि उक्त बैठक सञ्चालनमा छ। सुनसरीमा गएराति घटेको घटनापछि केन्द्रीय सुरक्षा समितिको यो बैठक बसेको हो। घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति पनि गठन भइसकेको छ। गृह मन्त्रालयको अध्यक्षतामा बसेको केन्द्रीय समितिमा गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख निर्देशक र नेपाली सेनाका प्रतिनिधि सहभागी छन्। उनीहरूले सुनसरी घटनासँगै देशभरि शान्ति सुरक्षाको समग्र अवस्था विश्लेषण गरी आवश्यक रणनीति बनाउने बताएका छन्।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर गएराति एक जनाको मृत्यु भएको छ। यसपछि स्थानीय प्रशासनले कर्फ्यू लागू गरेको छ। तर, कर्फ्यू उल्लंघन गर्दै सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू पनि भइरहेका छन्। सुनसरी घटनापछि गृहमन्त्री सुधन गुरुङले मन्त्रालयमा सुरक्षा प्रमुखहरूसँग छलफल गरेका थिए। उक्त छलफलपछि सुनसरी घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार छानबिन समितिलाई प्रतिवेदन बुझाउन एक हप्ता म्याद दिइएको छ। सो समितिले यस्ता घटनाहरू दोहोरिन नदिन के-के गर्नुपर्छ भनेर सुझावहरू पनि प्रस्तुत गर्नेछ।






