Skip to main content

वर्डक्याम्प काठमाडौं २०२६ आगामी सेप्टेम्बरमा हुने

समाचार संक्षेप
वर्डप्रेस समुदायको सबैभन्दा ठूलो सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ आगामी सेप्टेम्बर १८ र १९ गते काठमाडौंमा आयोजना हुने भएको छ। सम्मेलनमा ५०० भन्दा बढी सहभागीहरू साथै ३० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताहरूले आफ्नो अनुभव र ज्ञान साझा गर्नेछन्। यस कार्यक्रमले नेपालको डिजिटल अर्थतन्त्रलाई सशक्त बनाउन र नेपाललाई दक्षिण एसियाको उदीयमान सूचना प्रविधिको केन्द्रका रूपमा स्थापित गर्न योगदान पुर्‍याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

वर्डप्रेस काठमाडौंको आयोजकत्वमा गैरीधारास्थित एलिस रिसेप्सनमा आयोजना हुन लागेको यस सम्मेलनले नेपालको सूचना प्रविधि, डिजिटल उद्यमशीलता, र खुला स्रोत प्रविधिको प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। अमेरिका, युरोप, भारत, बंगलादेश लगायत विभिन्न देशका विज्ञ तथा सहभागीहरूको उपस्थितिमा सञ्चालन हुने सम्मेलनमा ५०० भन्दा बढी सहभागीहरू र ३० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूले आफ्ना अनुभव र ज्ञान प्रस्तुत गर्नेछन्।

सम्मेलनले नेपालको प्रविधि समुदायलाई विश्वव्यापी नेटवर्कसँग जोड्ने तथा काठमाडौंको ऐतिहासिक सम्पदा र खुला स्रोत प्रविधिहरूको सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। विश्वका करिब ४३ प्रतिशत वेबसाइट सञ्चालन गर्ने वर्डप्रेसले नेपाली विकासकर्ता, डिजिटल उद्यमी तथा आईटी एजेन्सीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै आएको छ। आयोजकहरूले यस वर्षको वर्डक्याम्पलाई विशेष महत्वका साथ हेरेको बताएका छन्।

दुई दिनसम्म चल्ने कार्यक्रममा पहिलो दिनलाई ‘कन्ट्रिब्युटर डे’ राखिएको छ, जहाँ सहभागीहरूले वर्डप्रेसलाई अझ सुरक्षित, प्रभावकारी र समृद्ध बनाउने प्रत्यक्ष योगदान दिनेछन्। दोस्रो दिन प्रमुख सम्मेलन हुने छ, जसमा कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा, उन्नत एसइओ, डिजिटल मार्केटिङ र वर्डप्रेस इकोसिस्टमका समसामयिक विषयहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन्। आयोजक अनुसार वर्डप्रेसले युवाहरूलाई फ्रिलान्सिङमार्फत विदेशी मुद्रा आर्जन गर्ने अवसर मात्र नभएर स्वदेशमै रोजगारी र उद्यमशीलताको वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको छ।