
नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यससँगै पार्टी भित्रका विभिन्न पक्षबीच सहमति स्थापित गर्ने निर्णायक प्रयासहरू तीव्र रूपमा अगाडि बढिरहेको नेताहरूले बताएका छन्। कांग्रेस सभापति गगन थापाले आइतबार आफूलाई भेट्न आएका कांग्रेसका नेता तथा कार्यकर्ताका समूहसँग एकताको प्रयास सहमतिका दिशामा अघि बढेको बताएका छन्। उनले सहमतिको रूपरेखा तयार गर्न कार्यदल गठन गर्ने योजना रहेको जानकारी दिइसकेका छन्। तर कांग्रेसका असन्तुष्ट पक्षका नेताहरूले औपचारिक रूपमा त्यस्तो प्रस्ताव प्राप्त नभएको बताएका छन्। कांग्रेस नेता विमलेन्द्र निधिले त्यस्तो प्रस्ताव डा. शेखर कोइरालासम्म पुगेको सुनेको तर विस्तृत जानकारी नभएको बताए। असन्तुष्ट समूहले काठमाण्डूमा साउन २९ गते राष्ट्रिय भेला आह्वान गरेको छ। सहमति नभए नयाँ पार्टी गठन गर्ने संकेत बीपी स्मृति दिवसको दिन नेताहरूले दिएका थिए।
सहमतिको अभावमा जन्मने नयाँ कांग्रेसबारे धेरैको चासो केन्द्रित छ। विगतमा गणतन्त्र र धर्मनिरपेक्षताप्रति प्रतिबद्ध नेताहरू नै यसमा “विचार गर्नुपर्ने” पक्षमा देखिन थालेका छन् जसले धेरैको ध्यान त्यसतर्फ केन्द्रित भएको छ। कतिपय विशेषज्ञहरूको अनुसार नयाँ बन्ने पार्टीले २०६३ सालअघिको कांग्रेस जस्तै संवैधानिक राजसंस्था र हिन्दू राज्यको विषयलाई उठाउने रूपमा सक्रिय हुने अनुमान गरिएको छ। नेता प्रकाशशरण महतले वैदिक सनातन हिन्दू राष्ट्रको पक्षमा विचार राख्ने गरेको बताएका छन्।
“अहिले हाम्रो राष्ट्रियता संकटमा छ। हिन्दू, बौद्ध, किरात राष्ट्रिय पहिचानका हिसाबले विचार आएको छ र हामीले आन्तरिक रूपमा पनि यस विषयमा छलफल गरेका छौं,” उनले भने, “हामीले राजसंस्थालाई प्राथमिकतामा राखेका छैनौं, यद्यपि त्यस पक्षमा सोच्ने साथीहरू पनि छन्, तर त्यो विषयले कुनै निर्णायक स्वरुप लिएको छैन।” विगतमा पार्टीभित्र हिन्दू राष्ट्रको पक्षमा पहल गर्ने नेता शङ्कर भण्डारी खुलेर राजसंस्थाको पक्षमा उभिएका छन्। उनले भने, “देशलाई विदेशी शक्तिको क्रीडास्थल बन्नबाट जोगाउन र देशको स्वाभिमान कायम राख्न व्यापक राष्ट्रिय एकताको आवश्यकता छ। राष्ट्रिय एकताको आधार राजसंस्था हो र सबै धर्मको सम्मान हुने गरी वैदिक सनातन हिन्दू राष्ट्र एकता र शान्तिको अर्को आधार हो।”






