
१२ साउन, विराटनगर । दुई समुदायबीचको विवादले विकराल रुप लिँदै गर्दा सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका ९ स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यू लगाएको छ। इटहरी उपमहानगरपालिका वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका तथा बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा कर्फ्यू लागू गरिएको छ।
मंगलबार साँझ ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालले कर्फ्यू आदेश जारी गरेका हुन्। प्रशासनका अनुसार कर्फ्यू अवधिभर तोकिएका क्षेत्रहरूमा कुनै पनि व्यक्ति आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना लगायतका सम्पूर्ण गतिविधि पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुन अनुसार कारबाही गरिने जनाइएको छ।






