
भारतका पूर्व सहायक प्रशिक्षक रायन टेन डोशाटे नाइट राइडर्स समूहको क्रिकेट रणनीति प्रमुख पदमा नियुक्त गरिएका छन्। उनी नाइट राइडर्सका चारवटै फ्रेन्चाइजका लागि खेलाडी खोज, भर्ती र टोली निर्माणसम्बन्धी रणनीतिक जिम्मेवारीहरू सम्हाल्नेछन्। सन् २०२४ मा कोलकाताले आईपीएल उपाधि जित्दा उनी महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए र अब नयाँ जिम्मेवारीका लागि उनी सीपीएलबाट सुरुवात गर्नेछन्। १३ साउन, काठमाडौं।
नाइट राइडर्स समूहले बुधबार रायन टेन डोशाटेको नियुक्ति सार्वजनिक गरेको हो। यसअघि उनले दुई वर्ष भारतको पुरुष राष्ट्रिय टोलीका सहायक प्रशिक्षकको रूपमा काम गरेका थिए। भारतीय टोलीको जिम्मेवारीबाट मुक्त भएको लगत्तै उनी नाइट राइडर्स समूहमा नयाँ भूमिकामा फर्किए। टेन डोशाटेले अब इन्डियन प्रिमियर लिग (आईपीएल) को कोलकाता नाइट राइडर्स, क्यारेबियन प्रिमियर लिग (सीपीएल) को ट्रिनबागो नाइट राइडर्स, अन्तर्राष्ट्रिय लिग टी–२० (आईएलटी–२०) को अबुधाबी नाइट राइडर्स तथा मेजर लिग क्रिकेट (एमएलसी) को लस एन्जलस नाइट राइडर्स गरी समूहका चारै फ्रेन्चाइजहरूको क्रिकेट रणनीति नेतृत्व गर्नेछन्।
उनको पहिलो जिम्मेवारी अगस्ट ७ मा सुरु हुने सीपीएलमा ट्रिनबागो नाइट राइडर्ससँग हुनेछ। नियुक्तिपछि उनले नाइट राइडर्स परिवारमा फर्किन पाउँदा आफू उत्साहित रहेको बताए। उनले प्रशिक्षक र विश्लेषक टोलीसँग सहकार्य गरेर खेलाडी खोज, प्रतिभा विकास प्रणालीलाई सुदृढ बनाउने र दीर्घकालीन क्रिकेट रणनीति निर्माणमा काम गर्ने प्रतिबद्धता जनाए। ४६ वर्षीय टेन डोशाटेको नाइट राइडर्ससँग लामो सम्बन्ध छ। उनले सन् २०११ मा कोलकाताबाट आईपीएल खेल्न थालेका थिए र २०१२ तथा २०१४ मा टोलीलाई उपाधि जिताउन मद्दत गरेका थिए।
नाइट राइडर्स समूहका प्रमुख कार्यकारी अधिकृत भेन्की मैसोरले टेन डोशाटेले फ्रेन्चाइज र अन्तर्राष्ट्रिय क्रिकेट दुवै क्षेत्रमा हासिल गरेको अनुभवले समूहको आगामी रणनीतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। नयाँ भूमिकामा उनी खेलाडी खोज, भर्ती, टोली निर्माण र प्रदर्शन मूल्याङ्कनलगायत सम्पूर्ण क्रिकेट रणनीतिको नेतृत्व गर्नेछन्। आईपीएलमा भने उनी कोलकाता नाइट राइडर्सका मुख्य प्रशिक्षक अभिषेक नायरसँग पुनः सहकार्य गर्नेछन्।






