Skip to main content

अमेरिकामा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध लगाइयो

अमेरिकी ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न गर्ने भन्दै चीनमा बनेका ह्युमनोइड र चार खुट्टे रोबोटहरूको आयातमा प्रतिबन्ध लगाएको छ। अमेरिकी संघीय सञ्चार आयोगले डाटा सेन्टर र सोलार प्यानलहरूमा प्रयोग हुने पावर इन्भर्टरहरूको आयातमा समेत रोक लगाएको छ। एफसीसी अध्यक्ष ब्रेन्डन कारले भने, ‘एजेन्सीले अमेरिकाको महत्वपूर्ण सप्लाई चेन सुरक्षित राख्न आफ्नो जिम्मेवारी पूरा गर्दैछ।’

ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो। प्रशासनले ती रोबोटहरूले देशको राष्ट्रिय सुरक्षामा चुनौती पुर्‍याउन सक्ने भन्दै यस्तो जोखिम स्वीकार गर्न मिल्ने कुरै नभएको जनाएको छ। यो प्रतिबन्ध उन्नत किसिमका रोबोटहरूमा लागू हुनेछ, जसमा ह्युमनोइड र चार खुट्टे रोबोटहरू समावेश छन्। अधिकांश यी रोबोटहरू चीनमा उत्पादन हुन्छन्।

चीन र अमेरिका अहिले रोबोटिक्स र कृत्रिम बौद्धिकता (एआई) क्षेत्रहरूमा अग्रणी बन्न प्रतिस्पर्धा गरिरहेका छन्। अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले डाटा सेन्टर र सोलार प्यानलहरूमा प्रयोग हुने पावर इन्भर्टरहरूको आयातमा पनि प्रतिबन्ध लगाएको छ। यस उपकरणहरूले अमेरिकी अर्थतन्त्र र महत्त्वपूर्ण पूर्वाधारमा खतरा सिर्जना गर्न सक्ने एफसीसीले औँल्याएको छ।

एफसीसी अध्यक्ष ब्रेन्डन कारले भने, ‘एजेन्सीले अमेरिकाको महत्वपूर्ण सप्लाई चेनको संरक्षणमा आफ्नो जिम्मेवारी निर्वाह गर्दैछ।’ एफसीसीले यी रोबोट र इन्भर्टरहरूलाई आफ्नो ‘कभरड लिस्ट’मा राखेको छ, जसमा अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरनाक वस्तु र सेवाहरू समावेश गरिन्छ। यस विषयमा चीनको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।