Skip to main content

काठमाडौंमा प्रथम टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप सुरु

त्रिपुरेश्वरमा बुधबारदेखि प्रथम काठमाडौं खेलमण्डल नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप सुरु भएको छ। उद्घाटन खेलमा नेपालका नम्बर एक खेलाडी वाङचु तामाङले विनोद श्रेष्ठलाई ४–२ को सेटमा पराजित गर्दै विजयी सुरुआत गरेका छन्। प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँसहित च्याम्पियन ट्रफी प्राप्त गर्नेछन्। १३ साउन, काठमाडौं।

प्रथम काठमाडौं खेलमण्डल (एनआरटी) द्वारा आयोजित प्रतियोगिता त्रिपुरेश्वरस्थित क्लब परिसरमा सुरु भएको हो। समूह ‘ए’ अन्तर्गत तामाङले बेस्ट अफ सेभेनमा विनोद श्रेष्ठलाई ४–२ ले पराजित गर्दै सुखद सुरुआत गरेका हुन्। प्रतियोगितामा नेपालका शीर्ष १५ खेलाडीसँगै आयोजक क्लबका एक खेलाडीसहित १६ जनाको सहभागिता रहेको छ। सहभागीलाई चार समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहका शीर्ष दुई खेलाडी क्वार्टरफाइनलसहितको नकआउट चरणमा प्रवेश गर्नेछन्।

प्रतियोगिताको उद्घाटन एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीले गरेका थिए। प्रतियोगिता संयोजक तथा एनआरटीका केन्द्रीय सदस्य राजेन्द्र शाक्यका अनुसार प्रतियोगिताका सबै खेल एनआरटीको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ। विजेताले एक लाख ११ हजार १११ रुपैयाँसहित च्याम्पियन ट्रफी प्राप्त गर्नेछन्। उपविजेताले ५१ हजार रुपैयाँ र ट्रफी पाउनेछन् भने सेमिफाइनलमा पुग्ने दुवै खेलाडीलाई जनही २५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। यस्तै, प्रतियोगितामा सेन्चुरी ब्रेक गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ दामासाही पुरस्कार र ८० अंकभन्दा बढीको उच्चतम ब्रेक बनाउने खेलाडीलाई २० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले बताएका छन्।