
आन्तरिक विवादका कारण फिफाबाट प्रतिबन्ध लगाइएपछि नेपाली फुटबल अहिले शून्य अवस्थामा सीमित भएको छ। न राष्ट्रिय तहमा कुनै फुटबल गतिविधि भइरहेको छ, न खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन पाएका छन्। आन्तरिक मतभेद र फिफाको प्रतिबन्धले गर्दा नेपाली फुटबल अहिले सुनसान अवस्थामा पुगेको छ। नियमित घरेलु लिगको अभावले खेलाडीहरु विदेशी ल्याण्डमा जान बाध्य भएका छन् भने समर्थकहरूको रुचि समेत कम हुँदै गएको छ। फुटबल विकासका लागि व्यक्तिगत स्वार्थ त्यागेर दीर्घकालीन रणनीतिसहित सबै सरोकारवालाहरूले एक जुट हुनुपर्ने आवश्यकता छ। १३ साउन, काठमाडौं। राष्ट्रिय लिगमा पहिलो पटक सहभागी बनेको लालीगुराँस एसोसियसन क्लब च्याम्पियन बन्ने दौडमा अग्रस्थानमा थियो। १३ खेलमा अपराजित रहँदै लालीगुराँसले २७ अंक जोडेर शीर्ष स्थान हासिल गरेको थियो। तर, पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीहरूलाई लिगमा समावेश नगराउन अध्यागमन विभागले निर्देशन दिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५ चैतमा लिग स्थगित गर्यो। यसले पहिलो सहभागीमा नै च्याम्पियन हुने लालीगुराँसको सपना चिरेको छ। लालीगुराँस क्लबका महासचिव ईश्वर बस्याल भन्छन्, ‘राष्ट्रिय लिग चाँडो संचालन गर्नुपर्छ। यदि संचालन नगर्ने हो भने हामी पहिलो छौं, हामीलाई च्याम्पियन घोषणा गर्नुपर्छ।’ यसैगरी, एन्फाले महिला लिग सञ्चालन गर्ने उद्देश्यले काठमाडौं ल्याएको आरएस पोखराले पनि केही दिनमै घर फर्किनुपरेको थियो। पर्यटकीय भिसामा आएका विदेशी खेलाडी समेटिएपछि सुरु भएको महिला लिग दुई दिनमै स्थगित हुन पुग्यो। यसले आरएस पोखराको लामो समयको मेहनत र लगानीलाई क्षणभरमै नष्ट गर्यो। लिग दुई दिनमै स्थगित हुनु क्लब मात्र नभएर नेपाली फुटबलका लागि पनि दु:खद विषय रहेको आरएस पोखराका अध्यक्ष रमेश कार्की बताउँछन्। ‘गत वर्ष छनोट भएर सहभागी भएको हो। छनोट प्रक्रियामा पनि लगानी गरिएको थियो। लिगका लागि एक महिनाअघि देखी नै खेलाडी अनुबन्ध र काठमाडौं बसाइ खर्च भयो। हामीलाई ठूलो घाटा भएको छ,’ उनले बताए। ५ चैतमा दुवै लिग स्थगित गरी अस्थायी रूपमा खेलाइरहेको एन्फा अन्ततः १० असारमा अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) द्वारा प्रतिबन्धित भएको छ। फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ मा उत्साहित नेपाली समर्थकहरूलाई यो प्रतिबन्धले स्तब्ध बनाएको छ। सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार हाल नेपाली फुटबल अहिलेभन्दा तल जानु सम्भव छैन। प्रतिबन्धपछि राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो तुब्बाले भनेकी छिन्, ‘१० वर्षको कडा मेहनतलाई अपराध र राजनीतिले मात्र १० मिनेटमा नष्ट गर्यो।’






