
पाकिस्तानको खैबर पख्तुनख्वास्थित खजिना चेकपोस्टमा एक आक्रमणमा डीएसपीसहित नौ प्रहरीको मृत्यु भएको छ। प्रहरीले भनेको छ कि दोहोरो मुठभेडमा १५ जना चरमपन्थी मारिएका छन् भने सोही घटनामा २८ प्रहरी घाइते छन्।
पाकिस्तानी सेनाको जनसम्पर्क विभागले पछिल्लो २४ घण्टामा खैबर पख्तुनख्वा र बलूचिस्तानमा ३२ जना आतंकवादीलाई मारिएको जनाएको छ। खैबर पख्तुनख्वा प्रान्तको हांगुस्थित खजिना चेकपोस्टमाथि आक्रमण भएको थियो। उक्त आक्रमण र जवाफी कारबाहीमा एकजना डीएसपीसहित नौजना प्रहरीको मृत्यु भएको छ।
विद्यमान रिपोर्ट अनुसार, खैबर पख्तुनख्वा प्रहरीले यस दोहोरो मुठभेडमा १५ चरमपन्थी मारिएको दाबी गरेको छ। बुधबार भएको आक्रमण र जवाफि अभियानमा डीएसपी दियार खानसहित नौ प्रहरी मारिएका थिए। यस आक्रमणमा डीएसपी मुजाहिद हुसेनसहित २८ जना प्रहरी घाइते भएका छन्।
चरमपन्थीहरूले हांगुको खजिना बन्दा चौकीमा हतियार प्रयोग गरी आक्रमण गरेका थिए। प्रहरीको आधिकारिक बयानमा यो कुरा उल्लेख छ। पाकिस्तान सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) ले पनि एक दाबी गर्दै पछिल्लो २४ घण्टामा ‘३२ आतंकवादीलाई मारिएको’ जनाएको छ। यी संयुक्त अभियान खैबर पख्तुनख्वा र बलूचिस्तानमा सञ्चालन भएका थिए।






