
धनुषा जिल्लाका सबै निजी शैक्षिक संस्थाहरूले बढ्दो तनावलाई मध्यनजर गर्दै साउन १५ गते शुक्रबार पठनपाठन स्थगित गर्ने निर्णय गरेका छन्। निजी विद्यालयका छाता संगठनहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग सरकारसमक्ष राखेका छन्। विद्यार्थीहरूको सुरक्षा र आवतजावतमा समस्या हुने सम्भावनालाई ध्यानमा राख्दै यो निर्णय गरेका हुन्।
१४ साउन, जनकपुरधाम। बढ्दो तनावका कारण जनकपुरधाम तथा धनुषा जिल्लाका सबै शैक्षिक संस्थाहरू शुक्रबार बन्द हुने घोषणासहित निजी शैक्षिक संस्थाहरूका छाता संगठनहरूले विद्यालय तथा क्याम्पस एकदिनका लागि बन्द गर्ने निर्णय गरेका छन्। नेशनल प्याब्सन, प्याब्सन, एन–प्याब्सन र हिसान धनुषाले बिहीबार संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा घटनामा ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकग्रस्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।
साथै घाइते नागरिक र सुरक्षाकर्मीहरूको छिटो उपचार भएको कामना गर्दै सरकारलाई घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कठोर कारबाहीको माग गरिएको छ। केही दिनदेखि विभिन्न स्थानमा सामाजिक सद्भावमा बाधा पुर्याउने गतिविधिहरू भइरहेकाले र विभिन्न संघ–संस्थाले बजार बन्दको आह्वान गरेकाले विद्यार्थीहरूको आवतजावतमा समस्या आउन सक्ने आशंकामा साउन १५ गते शुक्रबार सबै निजी विद्यालय र क्याम्पसमा पठनपाठन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ।






