Skip to main content

आत्माहत्या घटनाको रिपोर्टिङ गर्दा के कस्ता सावधानी अपनाउनु पर्छ?

लेख सूचनाएक महिनाभित्र नेपालमा करिब आधादर्जन आत्माहत्या घटना भएका छन्। राजधानीमा पहिलो घटना व्यापक चर्चा भइरहेका बेला नै एकपछि अर्को यस्तै घटनाहरू भएपछि विशेषज्ञहरूले यस्ता विषयहरू रिपोर्ट गर्दा वा सामाजिक सञ्जालमा प्रवाह गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। आत्माहत्याका घटनाबारे चर्चा गर्दा जरुरी सावधानी नअपनाएपछि यसले समान प्रवृत्तिका अन्य मानिसहरूलाई प्रोत्साहित गर्न सक्ने विश्वव्यापी उदाहरणहरू पाइन्छन् भनी तिनीहरूले बताएका छन्। घटनाको ‘नक्कल’ नेपालमा आत्माहत्याको दर उच्च रहेको तथ्यांकहरूले पुष्टि गरेका छन्। नेपाल प्रहरीको ताजा तथ्यांक अनुसार सन् २०८२/८३ को जेठ महिनासम्म ६,२८२ आत्माहत्या केसहरू दर्ता भएका छन्। गत वर्षको ‘प्रहरी दर्पण’ प्रतिवेदनमा २०८१/८२ मा दर्ता भएका अपराधहरू मध्ये आत्माहत्या तेस्रो ठूलो संख्या रहेको देखिन्छ। अधिकांश उजुरी बैंकिङ अपराधका १३ हजारभन्दा बढी छन् भने त्यसपछि सार्वजनिक अपराधका ८ हजारभन्दा बढी। यस्ता घटनामा ६,८५२ आत्माहत्या तेस्रो स्थानमा छन्। दिनहुँ औसतमा लगभग १९ आत्माहत्या घटना हुने गरेका छन्, जुन लागुऔषध र चोरीजस्ता घटनाभन्दा बढी हो। पछिल्लो महिना राजधानीमा भएका घटनापछि त्यस्तै आधा दर्जन घटना सार्वजनिक हुनुले यस्तो घटनाको नक्कल गर्ने प्रवृत्तिप्रति चिन्ता बढेको छ। मनोवैज्ञानिकहरू भन्छन् कि मानसिक समस्यामा परेका मानिसहरूलाई यस्ता घटनाको विवरणले पनि प्रोत्साहन दिन सक्छ। “आत्माहत्या गर्नेहरू जीवनबाट निराश भएर यस्तो क्रियामा पुग्छन्। यस्तो घटनालाई संवेदनशीलतापूर्वक सम्प्रेषण गर्नुपर्छ जसले अन्यलाई चोट नपुगोस्,” त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ मनोचिकित्सक डा सरोज ओझा भन्छन्। लगनखेल मानसिक अस्पतालका वरिष्ठ मनोचिकित्सक डा इश्वरी खनाल भन्छन् कि यस्ता खबरहरूले आम जनमानसमा प्रभाव पार्छ। “समान मानसिकता भएका मानिसहरू हुन सक्छन् जसलाई पारिवारिक वा आर्थिक समस्याले सताइरहेको हुन्छ। यस्ता मानिसहरूलाई आत्माहत्याको समाचारले तत्कालै कदम चाल्न प्रभाव पार्न सक्छ,” डा खनालले बताए। “पहिले तिनले त्यो कदम चाल्नबाट रोकिरहेको भए पनि यस्ता समाचारहरूले तत्काल निर्णय लिन उत्प्रेरित गर्न सक्छ।” विश्वभरि कुनै प्रसिद्ध व्यक्तिको वा चर्चित आत्माहत्याका घटनाहरूले अरूलाई पनि त्यही गर्ने प्रेरणा दिएको धेरै उदाहरण छन्। उनले थपे, “पछिल्लो समय नेपालमा पनि आत्मदाहका घटना अत्याधिक देखिएको छ।” के गर्ने, के नगर्ने? मनोचिकित्सकहरूले आत्माहत्यासम्बन्धी खबरहरूको सनसनीपूर्ण प्रकाशन, प्रसारण र सामाजिक सञ्जालमा पोस्ट नगर्न सुझाव दिएका छन्। “विश्व स्वास्थ्य संगठन र हाम्रो स्वास्थ्य मन्त्रालयले पनि यसबारे भनेका छन्। सकेसम्म आत्माहत्यासम्बन्धी घटना प्रतिवेदन गर्न हुँदैन। गर्नु परे धेरै कुरामा ध्यान दिनुपर्छ,” डा खनालले भने। “संवेदनशील रूपमा प्रस्तुत नगरे सनसनीपूर्ण रिपोर्टिङ नकारात्मक असर पार्न सक्छ। दृश्यहरू देखाउनु पनि खतरनाक हुन्छ।” डा सरोज ओझाले सञ्चार माध्यमहरूले आत्माहत्याका घटनालाई पहिलो पृष्ठमा राख्न नहुने सल्लाह दिन्छन्। “यसले अरूलाई प्रभावित पार्छ र डर फैलाउँछ। यस्ता घटनाको रोकथाम कसरी गर्ने भनेर रिपोर्ट गर्नुपर्छ,” उनले भने। समान प्रकृतिका घटनाहरू बढेकाले सेतोपाटी अनलाइनले आफ्नो सम्पादकीय नीति अनुसार “असाधारण सिवाय अन्य आत्माहत्याका घटनाबारे आगामी रिपोर्टिङ नगर्ने” निर्णय गरेको जनाएको छ। “श्रृङ्खलाबद्ध घटनाहरूलाई प्रकाशन गर्दा आम जनता र सञ्चार माध्यमको जिम्मेवारी मनन् गरी नीति बनाएका छौँ,” उनीहरूले बताएका छन्। विश्वका प्रतिष्ठित सञ्चारमाध्यमहरूले समेत आत्माहत्याका समाचारमा सावधानी अपनाउने गरेका छन्। “अब यस्तो गाइडलाइन नेपालको सञ्चार माध्यमहरूका लागि पनि आवश्यक देखिन्छ,” प्रेस काउन्सिल अध्यक्ष उमेश श्रेष्ठले बताए। “बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको रिपोर्टिङमा पनि कार्यविधि बनाइएको छ। अब आत्माहत्याका मामिलामा समेत सञ्चारमाध्यमसँग छलफल गर्दै मार्गनिर्देशन गर्ने प्रयास गरिरहेका छौँ,” श्रेष्ठले भने। प्रेस काउन्सिललाई सञ्चार माध्यमको निगरानी र मूल्यांकन गरेर मर्यादित र जिम्मेवार बनाउने महत्त्वपूर्ण भूमिका छ। आत्माहत्याका घटनासमेत प्रकाशन र प्रसारण गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा विश्व स्वास्थ्य संगठनले पनि केही दिशानिर्देश दिएको छ। त्यसका उल्लेख्य विषयहरू यसप्रकार छन्: नगर्नुपर्नेहरू – सनसनीपूर्ण शीर्षक बनाउनु हुन्न, आत्माहत्याको तरिका खुलाउनु नहुने, घटनास्थलको विवरण नदिने, ‘सुसाइड नोट’ को जानकारी साझा नगर्ने, आत्माहत्याका कारणलाई एक्लो वा सरलीकृत रुपमा नदेखाउने, तस्बिर, भिडियो, अडियो प्रयोग नगर्ने र सामाजिक सञ्जालका लिङ्क राख्न नहुनने, आत्माहत्याको समाचारलाई अनावश्यक रूपमा प्रमुखता नदिने वा बारम्बार दोहोर्‍याउने नगर्ने, गर्न सकिने कुराहरू – आत्माहत्याबाट जोगिन र रोकथामका उपायहरूमाथि जानकारी दिने, प्रसिद्ध व्यक्तिको आत्माहत्यासन्दर्भमा बढी संवेदनशील हुने, आत्महत्या रोकथाम सम्बन्धी जनचेतना जगाउने, जीवनका तनावसँग कसरी सामना गर्ने भन्ने विषयमा सामग्री दिने, पीडित परिवारसँग संवेदनशीलतापूर्ण व्यवहार गर्ने, सञ्चारकर्मीहरू आफैं पनि प्रभाबित हुन सक्ने विषयमा सचेत रहनुपर्ने, आम सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि यी नै नियमहरू लागू हुने मनोचिकित्सकहरूले बताए। “यस्ता घटनाका तस्वीरहरू वा लाइक, सेयर, कमेन्ट गर्नु हुँदैन। कतिपयले जानाजानी वा अनजानीमा यस्ता व्यवहार गर्छन्। हामीले हाम्रा क्रियाकलापले अरूलाई असर गर्ने विचार गरी जिम्मेवार हुनुपर्छ। आत्माहत्या बिरुद्ध सोच्न र कार्य गर्न सबैको सहयोग आवश्यक छ,” डा खनालले भने। “भ्युज आयो भनेर फ्रिक्वेन्टली पोस्ट गर्न मिल्दैन।” राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार आफ्ना सदस्यहरूलाई आत्महत्या तथा आत्मदाहसम्बन्धी घटना, समाचार वा जानकारी साझा नगर्न अनुरोध गरेको छ। सहयोग उपलब्ध छ नेपालमा आत्माहत्या रोक्न तथा परामर्श दिन निशुल्क हेल्पलाइन सेवा सञ्चालनमा छ। आत्माहत्या रोकथाम हटलाइन सेवा लागि ११६६ मा फोन गरेर मनोपरामर्श लिन सकिन्छ। “यदि कसैलाई आत्माहत्याको सोच आएमा तुरुन्त मनोचिकित्सकलाई भेट्नु पर्ने हुन्छ। सम्भव नहुँदा हेल्पलाइनमा फोन गरेर पनि मद्दत लिन सकिन्छ,” डा खनालले भने। उक्त हेल्पलाइन २४ घण्टा खुला रहने जानकारी उनले दिए।