कप्तान रोहितले भने – अवस्थालाई दोष दिन सकिन्न, ब्याटिङ र फिल्डिङ कमजोर देखियो

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ब्याटिङ, फिल्डिङ र खेलप्रतिको मनोबल कमजोर हुनुको कारणले शृङ्खला हार्नुपरेको स्वीकार गरेका छन्। रोहितले विदेशी परिस्थितिअनुसार ब्याटरहरूले छिटो बल (शर्ट बल) सामना गर्न नसक्नु मुख्य कमजोरी भएको बताए। टोलीले अब अक्टोबरमा हुने ओमान र क्यानडाविरुद्धको अन्तिम शृङ्खलामा राम्रो प्रदर्शन गर्दै ओडीआई मान्यता जोगाउने लक्ष्य राखेको छ। १५ साउन, काठमाडौं।
नेपाली ओडीआई क्रिकेट टोलीका कप्तान रोहित पौडेलले नेदरल्यान्ड्स भ्रमणमा चारवटै खेल हार्नुको मुख्य कारण केवल विदेशी अवस्थाहरू मात्र नभई ब्याटिङ, फिल्डिङ र खेलप्रतिको मनोबल कमजोर हुनु रहेको स्वीकार गरेका छन्। क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँगको शृङ्खलामा नेपालले चारै खेल गुमाएपछि शुक्रबार स्वदेश फर्किएका रोहितले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै हारको जिम्मेवारीबाट उनीहरू भाग्न नचाहिने बताए।
‘अवस्था एउटा कारण हो। तर त्यसलाई मात्र बहाना बनाउन मिल्दैन,’ रोहितले भने, ‘हामीले ब्याटिङमा जुन खेल खेल्नुपर्ने थियो, त्यो गर्न सकेनौं। खेलप्रति झुकाव देखिएन। मलाई लाग्छ, त्यही कारण हामी पछि पर्यौं।’ उनका अनुसार बलिङ युनिटले अपेक्षाअनुसार प्रदर्शन गरेको थियो। तर ब्याटिङसँगै फिल्डिङ पनि टोलीको स्तरअनुसार हुन नसक्दा नतिजा आफ्नो पक्षमा पार्न नसकेको उनले बताए।
‘बलिङ युनिट रूपमै हामी राम्रो थियौं तर ब्याटिङ र फिल्डिङ दुवैमा कमजोरी देखियो। एउटै खेलमा दुई–तीन मुख्य क्याच छुटे। तिनै ब्याट्सम्यानले पछि ७०–८० रन बनाएर खेल जिताए। अन्तर्राष्ट्रिय क्रिकेटमा यस्ता साना गल्तीले ठूलो मूल्य चुकाउनुपर्छ,’ उनले भने। रोहितले विदेशी विकेटमा खेल्ने शैली परिवर्तन गर्न नसक्नु पनि अर्को कमजोरी भएको स्वीकार गरे। नेपालको घरायसी विकेट र युरोपेली अवस्थाबीच ठूलो भिन्नता रहेकोले त्यसअनुसार आफूहरू ढल्न नसकेको उनको भनाइ थियो।
‘हाम्रो घरेलु विकेटभन्दा बाहिरी विकेट फरक हुन्छ। त्यसअनुसार खेल्न सकेनौं। त्यसलाई स्वीकार गरी सुधार गर्नु नै अहिलेको आवश्यकता हो,’ उनले भने। पूरै शृङ्खलामा विपक्षी टोलीका तीव्र गतिका बलरहरूले छोटो लेन्थका बल फाल्दा नेपालका अधिकांश ब्याटरहरु संघर्षरत देखिएका थिए। रोहितलेले पनि शर्ट बलविरुद्ध टोलीले अपेक्षाअनुसार खेल्न नसकेको स्वीकार गरे। ‘उनीहरूले लगातार शर्ट बलमा लक्षित गरेका थिए। त्यसलाई राम्रोसँग ट्याकल गर्न सकेको भए फरक नतिजा आउन सक्थ्यो। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न हो भने यस्ता चुनौती स्वीकारेर त्यसअनुसार खेल्नुपर्छ,’ उनले भने।
पहिलो खेलमा आफू र दीपेन्द्रसिंह ऐरीले राम्रो साझेदारी सुरु गरेका भए पनि त्यसलाई ठूलो इनिङ्समा रूपान्तरण गर्न नसक्नु नेपालका लागि महँगो परेको उनले बताए। ‘पहिलो खेलमा राम्रो मोमेन्ट आएको थियो। यदि त्यसलाई समात्न सकेको भए केही रन थपिन्थ्यो। त्यही स्कोर २१०–२२० पुगेको भए विपक्षीलाई पछ्याउन निकै गाह्रो हुने थियो,’ रोहितले भने। शृङ्खलाको अन्तिम खेलमा स्टार लेगस्पिनर सन्दीप लामिछानेलाई बाहिर राख्ने निर्णय कठिन भए पनि टोलीको सन्तुलनका लागि त्यस्तो गर्नुपर्ने उनले स्पष्ट पारे।
‘सन्दीप दाइलाई बाहिर राख्नु निकै कठिन निर्णय थियो। तर टिम कम्बिनेसनका कारण त्यो निर्णय लिनुपर्यो। सबैले टिमलाई पहिलो प्राथमिकतामा राखेर निर्णय स्वीकार गर्नुभयो,’ उनले भने। चारवटा हारसँगै लिग २ को अंकतालिकामा नेपाल शीर्ष ४ मा पर्न सक्ने संभावना लगभग समाप्त भएको छ। अब नेपाल शीर्ष ६ मा रहँदै ओडीआई मान्यता जोगाउने लक्ष्यमा हुनेछ। अक्टोबरमा हुने अन्तिम शृङ्खलामा ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपालले एकदिवसीय मान्यता जोगाउने अभियान पुरा गर्नुपर्नेछ। रोहितका अनुसार अब टोलीको सम्पूर्ण ध्यान उक्त अन्तिम शृङ्खलाप्रति केन्द्रित हुनेछ।
‘हाम्रो अहिले सबैभन्दा ठूलो लक्ष्य एकदिवसीय मान्यता जोगाउनु हो। अन्तिम शृङ्खलामा राम्रो नतिजा निकाल्न सके नेपाल क्रिकेटका लागि त्यो ठूलो उपलब्धि हुनेछ,’ उनले भने। समर्थकहरूको निराशाप्रति पनि उनले दुःख व्यक्त गरे। ‘समर्थकभन्दा हामी आफैं बढी निराश छौं। उहाँहरूको अपेक्षा पूरा गर्न सकेनौं। अर्को शृङ्खलामा अझ बढी मेहनत गरेर राम्रो नतिजा दिने प्रयास गर्नेछौं,’ रोहितले भने।






