
भेट्रान्स फोर्टी क्लबले कर्पोरेट क्रिकेट लिगको तेस्रो संस्करण आगामी भदौ १८ देखि २१ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ। प्रतियोगिता काठमाडौंको बुढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्कमा हुनेछ र यसमा विभिन्न संस्थागत क्षेत्रका २० टोली सहभागी हुनेछन्। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ४७ खेल हुनेछन् र विजेता टोलीले आकर्षक नगद पुरस्कार पाउने आयोजकहरूले जानकारी दिएका छन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले प्रतियोगिता बुढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा आयोजना हुने जनाएको छ। सहभागी टोलीहरूलाई चार समूहमा विभाजन गरिनेछ। सिंगल राउन्ड रोबिन लिग्का आधारमा प्रत्येक समूहको शीर्ष दुई टोलीले क्वार्टरफाइनल प्रवेश गर्नेछन्।
फाइनल अघि दर्शकहरूको मनोरञ्जनका लागि कलाकार र कर्पोरेट क्षेत्रका कार्यकारीबीच एक्जिबिसन खेल पनि आयोजना गरिनेछ। प्रतियोगिताका विजेता र उपविजेताले नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै सर्वोत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट फिल्डर, उत्कृष्ट विकेटकिपर, फेयर प्ले टोली र सर्वाधिक छक्का तथा चौका प्रहार गर्ने खेलाडीहरूलाई विधागत पुरस्कार उपलब्ध गराइनेछ।
भेट्रान्स फोर्टी क्लबले यसअघि कर्पोरेट क्रिकेट लिगका दुई संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ। आयोजकका अनुसार २५ देखि ३९ वर्ष उमेर समूहका खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिता सञ्चालनमा करिब ६० देखि ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।






