
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी विनोद भण्डारी युरोप टी-१० क्रिकेट प्रतियोगिता २०२६ का लागि ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर १४ देखि १६ सम्म लिस्बनमा हुने प्रतियोगितामा युरोपका विभिन्न देशमा रहेका नेपाली क्रिकेट टोलीहरूको सहभागिता रहने छ।
भण्डारी बिहीबार नेदरल्यान्ड्सबाट पोर्चुगलको राजधानी लिस्बन पुगेका हुन्। यस अवसरमा एनआरएनए एनसीसी पोर्चुगलले लिस्बनमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे औपचारिक जानकारी सार्वजनिक गर्ने जनाएको छ। प्रतियोगितामा हालसम्मकै ठूलो पुरस्कार राशि रहने दाबी गरिएको छ।
आयोजकले प्रतियोगिताका सम्पूर्ण खेलहरू युरोपियन क्रिकेट नेटवर्क (ईसीएन) मार्फत प्रत्यक्ष प्रसारण गरिने जानकारी दिएका छन्। यस प्रतियोगिताले युरोपका विभिन्न मुलुकमा रहेका नेपाली क्रिकेटप्रेमी तथा नेपाली समुदायलाई एउटै साझा मञ्चमा जोड्दै आपसी भाइचारा, एकता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।






