
मेन्टेन एफसीले होराक एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि जित्न सफल भएको छ। पेसएक्स स्पोर्ट्सद्वारा आयोजित पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि मेन्टेन एफसीले जितेको हो। फाइनल खेलमा मेन्टेन एफसीले होराक एफसीलाई पेनाल्टी सुटआउटमा हराउँदै च्याम्पियन बनेको हो। तेस्रो स्थानको लागि भएको खेलमा ठमेल ११ ले रोयल नेपाललाई २–१ ले पराजित गर्दै २१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। १७ साउन, काठमाडौं।
पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले आफ्नो नाम गराएको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा आइतबार सम्पन्न रोमाञ्चक फाइनलमा मेन्टेन एफसीले होराक एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै प्रतियोगिताको विजेता बनेको हो। फाइनल खेलको शुरुदेखि नै दुवै टोलीबीच उत्कर्षपूर्ण प्रतिस्पर्धा देखिएको थियो। दोस्रो मिनेटमै सन्दीप कार्कीले गोल गर्दै होराकलाई अग्रता दिलाए। तर, मेन्टेनका रविन चौलागाईंले बराबरी गोल फर्काए। नवौँ मिनेटमा सैलेन्द्र मगरले गोल गर्दै होराकले पहिलो हाफमा २–१ को अग्रता बनायो। दोस्रो हाफमा पनि होराकले फेरि गोल गर्दै ३–१ को बलियो अग्रता कायम गरेको थियो। तर, खेलको अन्तिम समयमा मेन्टेनका योगेश श्रेष्ठले लगातार दुई गोल गर्दै खेललाई ३–३ को बराबरीमा पुर्याए र पेनाल्टी सुटआउटमार्फत विजेता तय गरियो। मेन्टेनले पेनाल्टी सुटआउटमा बाजी मारेको छ।
आइतबारको क्वाटरफाइनलमा मेन्टेन एफसीले नोबेल फुटबल एकेडेमीलाई २–० ले हराएको थियो भने सेमिफाइनलमा रोयल नेपाललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो। होराकले क्वाटरफाइनलमा डाइनामिक एफसीलाई ३–१ ले हराएको थियो भने सेमिफाइनलमा ठमेल ११ लाई ३–० ले पराजित गरी फाइनल खेल खेलेको थियो। तेस्रो स्थानका लागि ठमेल ११ ले रोयल नेपाललाई २–१ ले हराएको थियो। विजेता मेन्टेन एफसीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र पाए। उपविजेता होराक एफसीले रु ५१ हजार १ सय ११ र तेस्रो स्थान हासिल गरेको ठमेल ११ ले रु २१ हजार १ सय ११ नगद पुरस्कार प्राप्त गर्यो। प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट टोलीलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। तीन दिनसम्म चलेको यस प्रतियोगितामा कुल ३२ टोलीले भाग लिएको थियो। नेपाली खेलकुद विकास र विस्तारका लागि स्थापना गरिएको पेसएक्स स्पोर्ट्सले भविष्यमा फुटसल लगायत अन्य खेलकुद प्रतियोगिताहरू नियमित रुपमा आयोजना गर्ने जनाएको छ।






