
ग्रीसमा डढेलो नियन्त्रण गर्ने क्रममा आकाशमा दुई हेलिकप्टर ठोक्किँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ। मृत्यु हुनेमा एक डेनिस पाइलट र ग्रीसको अग्नि नियन्त्रण निकायका सम्पर्क अधिकृत रहेका छन्। अर्को हेलिकप्टरमा रहेको ब्रिटिश पाइलट र ग्रीक समन्वयकर्ता भने सकुशल रहेका बताइएको छ।
राजधानी एथेन्सबाट करिब ६५ किलोमिटर पश्चिमतर्फ भएको उक्त दुर्घटनाको भिडियोमा एउटा हेलिकप्टर अर्को हेलिकप्टरको पङ्खामा ठोक्किएपछि एउटा हेलिकप्टरमा आगो लागेर नजिकैको भिरालो क्षेत्रमा खसेको देखिन्छ भने अर्कोले आकस्मिक अवतरण गरेको थियो। यससाता ग्रीसका विभिन्न क्षेत्रमा डढेलो फैलिएको छ जसका कारण ठूलो सङ्ख्यामा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
ग्रीसको नागरिक सुरक्षा मन्त्रालयका एक श्रोतले बताएअनुसार सुरक्षा प्रोटोकल अनुसार देशभर चलिरहेका सबै ‘बेल’ हेलिकप्टरहरूको उडान तत्कालका लागि स्थगित गरिएको छ। स्रोतका अनुसार जीवित रहेका ब्रिटिश पाइलट डढेलो जोखिमयुक्त मौसमका लागि निजी रूपमा खटाइएका थिए। उनी ब्रिटेन र ग्रीसबीच कुनै आदानप्रदान कार्यक्रममा सहभागी थिएनन् र एथेन्सले ब्रिटेनसँग सहयोगको लागि कुनै अनुरोध पनि गरेको थिएन।
हाल पनि ‘एरिक्सन एअर-क्रेन’, ‘चिनूक हेलिकप्टर’ र पानी छर्किने ‘क्यानाडेयर’ विमानहरूले डढेलो नियन्त्रणको काम जारी राखेका छन्। यस साता सुरुमा फ्रान्स र स्पेनले पनि ठूलो डढेलोहरू नियन्त्रण गर्ने प्रयास गरेका थिए। डढेलोका कारण करिब ३ लाख मानिसहरू सुरक्षित स्थानमा सारिएका थिए, जो अहिले आफ्ना घर फर्कन थालेका छन्।






