Skip to main content

पूर्वाधार विकास र गुणस्तर इन्जिनियरको भूमिकामा निर्भर रहन्छ : मन्त्री श्रेष्ठ

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको विकास र समृद्धिमा इमानदार तथा उत्तरदायी इन्जिनियरको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने बताए। मन्त्री श्रेष्ठले भने, “प्रत्येक निर्णय, प्राविधिक सुझाव र हस्ताक्षरले लाखौं नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्छ।” उहाँले राष्ट्रसेवामा प्राविधिक दक्षतासँगै नयाँ पुस्ताका इन्जिनियरबाट नवीन सोच, सकारात्मक ऊर्जा र नैतिक साहसको अपेक्षा गरिएको पनि उल्लेख गर्नुभयो।

१८ साउन, काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इन्जिनियरको भूमिकामा निर्भर रहने भन्नुभयो। जल तथा ऊर्जा आयोगको सचिवालय जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रले आज आयोजना गरेको नवप्रवेशी इन्जिनियरलाई सम्बोधन गर्दै उहाँले सरकारी सेवामा प्रवेश केवल जागिरको सुरुवात नभई राष्ट्र निर्माणको अभियानमा समर्पण गर्ने ऐतिहासिक अवसर भएको बताउनुभयो। मन्त्री श्रेष्ठले भने, “प्रत्येक निर्णय, प्राविधिक सुझाव र हस्ताक्षरले लाखौँ नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले उच्च जिम्मेवारीबोधका साथ काम गर्नुपर्छ।”

राष्ट्रको विकास, सभ्यता र समृद्धिको इतिहास इन्जिनियरको सिर्जनशीलता, अनुसन्धान, अनुशासन र अथक परिश्रमसँग जोडिएको बताए। सडक, पुल, विद्युत् आयोजना, प्रसारण लाइन, जलाशय, सिँचाइ प्रणाली, खानेपानी पूर्वाधार, औद्योगिक संरचना तथा आधुनिक शहरको निर्माण इन्जिनियरको दूरदृष्टि र क्षमता माथि निर्भर रहने मन्त्रालयका अग्रजले जानकारी दिनुभयो। उहाँले राष्ट्रसेवामा ज्ञानसँगै चरित्रको पनि उस्तै महत्त्व रहेकाले सरकारी सेवामा प्राविधिक दक्षता भन्दा पनि नैतिक साहस कहिलेकाही अझ महत्वपूर्ण बन्न सक्ने बताए।