
नेपाल उद्योग वाणिज्य महासंघले बैंक, वित्त तथा बीमा, मेला र पर्यटन तथा हवाई यातायात गरी थप तीन विषयगत समितिहरूलाई पूर्णता प्रदान गरेको छ। महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले समितिहरूलाई निजी क्षेत्रका समस्या र आवश्यकताहरू पहिचान गरी नीतिगत रूपमा सरकारमा प्रभावकारी रूपमा प्रस्तुत गर्न आह्वान गरेका छन्। सभापतिहरूले बैंकिङ पहुँच, व्यापार मेलेको स्तर वृद्धिदेखि पर्यटन प्रवर्द्धनका लागि सम्बन्धित निकायसँग समन्वय गरी काम गर्न प्रतिबद्धता जनाएका छन्। १८ साउन, काठमाडौं।
नेपाल उद्योग वाणिज्य महासंघमा थप तीन विषयगत समितिहरूले पूर्णता प्राप्त गरेका हुन्। यसअघि आठ विषयगत समितिहरूले पूर्णता पाइसकेका थिए। महासंघमा हाल २५ विभिन्न समितिहरू सक्रिय छन्। पछिल्लो निर्णयअनुसार बैंक, वित्त तथा बीमा समिति (सभापतित्व हेमन्त गोल्छा), मेला समिति (सभापतित्व सविन श्रेष्ठ) र पर्यटन तथा हवाई यातायात समिति (सभापतित्व संघर्ष विष्ट) विस्तार गरी थप तीन समितिहरू पूर्णता पाएका छन्। महासंघ सचिवालय टेकुमा भएको उक्त कार्यक्रममा विभिन्न विषयगत समितिका उपसभापति, सदस्य र सल्लाहकारहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको छ।
कार्यक्रममा मनोनयन पत्र हस्तान्तरण गर्दै महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले समितिहरू निजी क्षेत्रका समस्या, सम्भावना र आवश्यकता पहिचान गर्ने महत्त्वपूर्ण संयन्त्र भएको बताए। उनले समितिहरूलाई आफ्नो क्षेत्रसँग सम्बन्धित समस्या र नीतिगत विषयमा गहिरो अनुसन्धान गरी सरकार समक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न आग्रह गरे। “महासंघका विषयगत समिताहरूको सक्रियता नै निजी क्षेत्रको सशक्तीकरण र देशको आर्थिक समृद्धिको आधार हो,” वैद्यले भने।
महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले विषयगत समिताहरूलाई महासंघका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आधार भएको बताए। उनले समितिहरूलाई सम्बन्धित क्षेत्रका व्यवसायी र उद्यमीहरूसँग नजिकबाट समस्या बुझेर समाधानतर्फ पहल गर्न आग्रह गरे। समितिहरूले निजी क्षेत्र, सरकार र सरोकारवाला निकायबीच समन्वय कायम गरी समस्या पहिचान तथा समाधानमा भूमिका खेल्नुपर्ने पनि उनले जोड दिए। सो अवसरमा बैंक, वित्तीय तथा बीमा समितिका सभापति हेमन्त गोल्छाले बैंकिङ र वित्त क्षेत्रमा सहज पहुँच, ब्याजदर स्थिरता, तरलता व्यवस्थापन र निजी क्षेत्रमैत्री नीति निर्माणका लागि समिति सक्रिय रहने कुरा बताएका छन्।






