Skip to main content

स्पेसएक्सको रकेटको टुक्रा आज चन्द्रमामा ठोक्किने

२० साउन, काठमाडौं । स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा बुधबार चन्द्रमाको सतहमा ठोक्किन लागेको छ। गत वर्षदेखि अनियन्त्रित रूपमा घुमिरहेको उक्त रकेटको टुक्रा स्कुल बसजत्रो आकारको रहेको र तौल करिब ४ मेट्रिक टन अर्थात् ४ हजार किलोग्राम रहेको बताइएको छ। यसलाई जनवरी २०२५ मा फायरफ्लाई एरोस्पेसको चन्द्रयानलाई चन्द्रमातर्फ पठाउन प्रयोग गरिएको थियो। अमेरिकी समयअनुसार बुधबार बिहान २ बजेर ३५ मिनेटमा अर्थात् नेपाली समयअनुसार बुधबार दिउँसो करिब १ बजेर २० मिनेटमा उक्त रकेटको टुक्रा चन्द्रमामा ठोक्किने अनुमान गरिएको छ। यो करिब ५ हजार ४ सय माइल अर्थात् ८ हजार ६ सय ९० किलोमिटर प्रतिघण्टाको गतिमा चन्द्रमाको सतहमा प्लमेज हुनेछ। रकेटको टुक्रा चन्द्रमामा ठोक्किँदा ठूलो मात्रामा चन्द्रमाको धुलो उड्ने अनुमान गरिएको छ। सूर्यको प्रकाशमा उक्त धुलो चम्किन सक्छ, तर पृथ्वीबाट नांगो आँखाले यस्तो दृश्य देख्न कठिन हुने वैज्ञानिकहरूले बताएका छन्।

स्पेसएक्सका अनुसार रकेटको टुक्रा चन्द्रमाको पश्चिमी भागमा रहेको ‘आइन्स्टाइन क्रेटर’ नजिकै ठोक्किनसक्ने बताइएको छ। उक्त क्षेत्र पृथ्वीबाट प्रत्यक्ष हेर्न गाह्रो मानिन्छ। स्पेसएक्सले यो घटना नियोजित नभएको जनाएको छ। रकेटको दोस्रो चरणले आफ्नो इन्धन सकाइसकेकोले अहिले त्यसलाई नियन्त्रणमा राखेर अर्को दिशातर्फ पठाउन सम्भव छैन। सामान्यतया कुनै रकेटले आफ्नो पेलोडलाई निर्धारित कक्षमा पुर्‍याएपछि बाँकी चरण पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गरि जलेर वा समुद्रमा खस्छ। तर जनवरी २०२५ मा चन्द्र अवतरण यान प्रक्षेपण गर्दा पृथ्वीको नजिक हुने सामान्य अभियानको तुलनामा बढी बल प्रयोग आवश्यक परेकाले फाल्कन–९ को दोस्रो चरण पृथ्वीको वायुमण्डलमा फर्कन सकेन। त्यसपछि यो अन्तरिक्षमा रहेका अन्य हजारौं टुक्रासँगै अनियन्त्रित रूपमा घुमिरहेको थियो।

यस वर्षको सुरुमा वैज्ञानिकहरूले उक्त रकेटको टुक्रा चन्द्रमामा पुगेर अन्त्य हुने कक्षमा रहेको पत्ता लगाए। त्यसअघि नै यसको बाँकी इन्धन सकिसकेको थियो। रिपोर्टअनुसार, स्पेसएक्समा नासा विज्ञान तथा ड्रागन कार्यक्रमकी निर्देशक जुलियाना शाइमनले सौर गतिविधि र गुरुत्वाकर्षण शक्तिको संयुक्त प्रभावले रकेटको टुक्रा चन्द्रमातर्फ गएको बताएकी छन्। उनका अनुसार यसबाट तत्काल कुनै खतरा छैन। तर घटनाले अन्तरिक्षमा बाँकी रहेका रकेट र अन्य उपकरण व्यवस्थापनको चुनौती देखाएको छ। चन्द्रमामा अन्तरिक्ष फोहोर ठोक्किने घटना दुर्लभ हो। चन्द्रमामा मानव निर्मित अन्तरिक्ष सामग्री ठोक्किने घटनाहरू निकै कम छन्। सन् २०२२ को मार्चमा चिनियाँ रकेटको एउटा चरण चन्द्रमामा ठोक्किएको थियो। त्यसअघि सन् २००९ मा अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमाको सतहमा रकेटको एउटा भाग नियोजित रूपमा ठोक्काएको थियो। त्यसबाट उडेको चन्द्रमाको धुलो र कंक्रिटको अध्ययन गर्ने उद्देश्य राखिएको थियो। जुलियाना शाइमनका अनुसार, नासा र स्पेसएक्स भविष्यमा चन्द्रमामा यस्ता अनियन्त्रित ठक्कर रोक्ने उपायहरूमा छलफल गरिरहेका छन्। अमेरिकी अन्तरिक्ष निकाय नासाले अर्बौं डलरको आर्टेमिस कार्यक्रमअन्तर्गत यस दशकको अन्त्यतिर चन्द्रमामा आधार निर्माण गर्ने र नियमित रूपमा अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ। चन्द्रमामा मानवसहितका अभियान बढ्दै गएपछि अनियन्त्रित रूपमा घुमिरहेका रकेट तथा अन्य अन्तरिक्ष फोहोरका टुक्राले चन्द्रमामा रहेका उपकरण वा भविष्यका अभियानलाई क्षति पुर्‍याउन सक्ने जोखिम रहेको वैज्ञानिकहरू संशय व्यक्त गर्छन्।