
फिफाको निलम्बनका कारण नेपालको यू-२० फुटबल टोली एएफसी यू-२० एसियन कप छनोटबाट बहिष्कृत भएको छ। एन्फामाथिको निलम्बन अगष्ट १ सम्म फुकुवा नभएकाले एएफसीले नेपालको नाम छनोट तालिकाबाट हटाएको छ। फिफा निलम्बनका कारण नेपालले एएफसी महिला च्याम्पियन्स लिग र यू-१७ महिला एसियन कप छनोट पनि गुमाइसकेको छ।
२१ साउन, काठमाडौं। पछिल्ला दिनमा फिफा निलम्बनको प्रभाव नेपाली फुटबलमा स्पष्ट देखिएको छ। यस पटक निलम्बनले नेपालको उमेर समूह फुटबल टोलीलाई प्रभाव पारेको छ। फिफा निलम्बनका कारण अगस्तदेखि सुरु हुने एएफसी यू-२० एसियन कप छनोटबाट नेपालको नाम हटाइएको छ। नेपाल डेभलपमेन्ट फेज अन्तर्गत समूह आईमा रहेको थियो। अब नेपालले यू-२० एसियन कप छनोट खेल्न पाउने छैन।
अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लागेको फिफा निलम्बन अगष्ट १ तारिखसम्म फुकुवा भइनसकेकोले एएफसीले नेपालको नाम हटाएको हो। एएफसीले २७ जूनमा एन्फालाई पत्र पठाएर निलम्बन फुकुवा नभएसम्म नेपालले सहभागिता जनाउन नपाउने जानकारी गराएको थियो। तर निलम्बन जारी भएकाले नेपालले यू-२० एसियन कप छनोटमा भाग लिन पाउने छैन।
सन् २०२७ मार्च-अप्रिलमा चीनमा आयोजना हुने यू-२० एसियन कपका लागि सार्वजनिक ड्रमा नेपाल समूह आईमा मंगोलिया, ग्वाम र नर्दन मारिया आइल्यान्डसँगै थियो। नेपालले अगष्ट ३१ मा ग्वामसँग पहिलो खेल खेल्ने तालिका थियो। तर एएफसीले सार्वजनिक गरेको अपडेटेड ड्र अनुसार नेपालको नाम हटिसकेको छ। समूह एमा रहेको फिलिपिन्सले पनि नखेल्ने भएको छ। सन् २०२४ मा नेपालले एएफसी यू-२० एसियन कप छनोटमा समूह बीमा एक खेल जितेर तीन खेल हारेको थियो। फिफा निलम्बनका कारण नेपालले गुमाउने यो तेस्रो प्रतियोगिता हो। यसअघि नेपालले एएफसी महिला च्याम्पियन्स लिग र यू-१७ महिला एसियन कप छनोट पनि गुमाइसकेको छ। यस्तैगरी नोभेम्बर ४ देखि बंगलादेशमा हुने तय भएको साफ च्याम्पियनसिप फुटबलमा पनि नेपालको सहभागिता अन्योलमा छ। साफको लागि गरिएको ड्रमा हाल नेपालको नाम समावेश छैन। यदि सेप्टेम्बर १ भित्र निलम्बन फुकुवा भयो भने मात्र नेपाल समूह एमा सहभागी हुनेछ।






