Skip to main content

कुवेतमा इरानी विद्यालय बन्द गर्ने आदेश जारी

कुवेत सरकारले देशमा सञ्चालन हुँदै आएको एक मात्र निजी इरानी विद्यालयको शैक्षिक इजाजतपत्र रद्ध गर्दै बन्द गर्ने निर्णय गरेको छ। शिक्षा मन्त्रालयले आगामी शैक्षिक वर्षका लागि नयाँ विद्यार्थी भर्ना रोक्ने निर्णय गर्दै अभिभावकहरूलाई आफ्ना बालबालिकालाई अन्य विद्यालयमा स्थानान्तरण गर्न आग्रह गरेको छ।

मध्यपूर्वमा जारी द्वन्द्व र इरानी आक्रमणका कारण पहिले युएईले पनि इरानसँग सम्बन्धित विद्यालय र अस्पतालहरू बन्द गर्ने कदम चालेको थियो। कुवेतका अधिकारीहरूले स्थानीय इरानी विद्यालय बन्द गर्न आदेश दिएका छन्। शिक्षा मन्त्रालयका एक स्रोतले बिहीबार एएफपीलाई यसबारे जानकारी दिएका छन्।

यो आदेश मध्यपूर्वमा जारी युद्ध क्रममा इरानले कुवेतमा बारम्बार आक्रमण गरेपछि जारी गरिएको हो। मन्त्रालय स्रोतले देशको एक मात्र इरानी विद्यालय बन्द गर्नुको कारण स्पष्ट पारेको छैन। यद्यपि, युएईमा युद्ध सुरु हुँदा त्यहाँका अधिकारीहरूले पनि इरानी सरकारसँग सम्बन्धित विद्यालय र अस्पतालविरुद्ध यस्तै कदम चालिएको थियो।

कुवेतमा विद्युत र ‘डिसेलिनेसन’ प्लान्टहरूमा बारम्बार आक्रमण भएपछि अधिकारीहरूले गत महिना बासिन्दाहरुलाई बिजुली बचत गर्न आग्रह गरेका थिए। “शिक्षा मन्त्रीले निजी इरानी विद्यालयको शैक्षिक इजाजतपत्र रद्ध गरी बन्द गर्ने निर्णय जारी गर्नुभएको छ,” एएफपीले पाएको विद्यालय बन्द गर्ने निर्णयमा भनिएको छ।