Skip to main content

नेपालमा उद्यमशीलता इकोसिस्टम निर्माणका लागि कोइकाको पहल

कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) ले नेपालमा उद्यमशीलता विकासलाई सुदृढ तुल्याउन ‘के–कनेक्ट’ नामक नयाँ कार्यक्रम सञ्चालन गरेको छ। कोइकाले कोरियाबाट फर्किएका श्रमिकहरुलाई सहुलियतपूर्ण ऋणका लागि २५ लाख अमेरिकी डलर बराबरको ब्याज अनुदान उपलब्ध गराएको छ। तराई क्षेत्रमा १०९ वटा जलवायु–मैत्री कृषि उद्यम स्थापना भएका छन् भने पोखरामा ११५ वटा पुनर्चक्रण आधारित उद्यमहरू सञ्चालनमा छन्।

२१ साउन, काठमाडौं। कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) ले नेपालमा उद्यमशीलता विकास थप सुदृढ बनाउन ‘के–कनेक्ट : प्रमोटिङ द इन्टरप्रेनरसिप इकोसिस्टम इन नेपाल’ कार्यक्रम आयोजना गरेको छ। काठमाडौंमा आज भएको कार्यक्रममा कोइकाले जनाएको छ कि ‘के–कनेक्ट’ले उद्यमी, लगानीकर्ता, वित्तीय संस्था, सरकारी निकाय, व्यवसायिक मार्गदर्शक (मेण्टर) र विकास साझेदारलाई एउटै मञ्चमा जोडेर ज्ञान, सञ्जाल र वित्तीय पहुँच बिस्तार गर्ने प्रयास गरेको हो। यस कार्यक्रमले नवप्रवर्तन, दिगो व्यवसाय विस्तार तथा रोजगारी सिर्जना प्रवर्द्धन गर्ने कोइकाको लक्ष्य रहेको उल्लेख छ।

कार्यक्रममा कोइकाको सहयोगमा सञ्चालित तीन प्रमुख परियोजनाका उपलब्धिहरू पनि सार्वजनिक गरिएका थिए। नेपाल फर्केका श्रमिकलाई २५ लाख अमेरिकी डलर बराबरको ब्याज अनुदान कोरिया फर्किएका आप्रवासी श्रमिकहरूको पुनः एकीकरणका लागि सञ्चालित ‘के–हामी’ (K–HaMi) परियोजनामा हालसम्म १५ हजारभन्दा बढी श्रमिकहरूले प्राविधिक सीप, पुन: एकीकरण र वित्तीय साक्षरता तालिम लिएका छन्। उनीहरूमध्ये १९५ जनाले उद्यमशीलता तालिम पूर्ण गरेका छन्।

कोइकाको सहयोगको कदर गर्दै नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ते–योङले दक्षिण कोरियाको आर्थिक विकासमा मानव पूँजीमा गरिएको लगानी, सुदृढ संस्थागत प्रणाली, नवप्रवर्तन र निजी क्षेत्रको विकासले महत्वपूर्ण भूमिका खेलेको बताए। कोइका नेपालका कन्ट्री डाइरेक्टर मूह्योन कोङले नेपालमा उद्यमशीलता, सीप विकास र वित्तीय पहुँच विस्तारका लागि कोइकाले निरन्तर विभिन्न परियोजनामार्फत सहयोग गर्दै आएको बताए।

कार्यक्रममा लाभग्राहीहरूले आफ्ना अनुभव प्रस्तुत गरेका थिए भने बैंक तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई व्यवसायिक प्रस्तुति (बिजनेस पिचिङ) र सम्भावित लगानीकर्तासँग प्रत्यक्ष परामर्श सत्र समेत सञ्चालन गरिएको थियो। कोइकाले सन् १९९१ देखि नेपालमा स्वास्थ्य, शिक्षा, कृषि, प्राविधिक तथा व्यावसायिक तालिम, ग्रामीण विकास, सूचना प्रविधि र पर्यटन क्षेत्रहरूमा सहयोग गर्दै आएको छ। हालसम्म नेपाललाई २३ करोड ५० लाख अमेरिकी डलर बराबरको विकास सहायता उपलब्ध गराइसकेको कुरा कोइकाले जनाएको छ।