
अध्यागमन विभागले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालीहरू विश्वका लगभग सबै देशहरू पुगिसकेका छन्। विभागको “वार्षिक पुस्तिका”मा सन् २०२५ मा नेपाली नागरिकहरू विश्वका २३१ देशहरूमा पुगेको जानकारी छ। नेपालीहरूको विदेश यात्रा सम्बन्धी विस्तृत तथ्याङ्क समेटिएको विभागको “वार्षिक पुस्तिका २०८३ श्रावण” साउन १९ गते वेबसाइटमा प्रकाशित गरिएको छ।
“श्रम, पुँजी र प्रविधिको विकास र विस्तारले नेपालीहरू सबै मुलुकसम्म पुग्न सक्षम भएका छन्,” विभागका प्रवक्ता टीकाराम ढकालले भने। “त्यो यथार्थ तथ्याङ्क हो, जहाँ कुनै देशमा १० जना नेपाली पुगेका छन् भने उनीहरूको विवरण विभागमा सुरक्षित हुन्छ।” अधिकारीहरूले चीन प्रशासनमा रहेका हङकङ वा मकाउ र संयुक्त राष्ट्रसंघमा गएकाहरूको विवरण पनि देशको श्रेणीमा राखिएकोले मुलुकहरूको संख्या धेरै देखिएको बताए।
सन् २०२५ मा करिब १७ लाख नेपाली विदेश गएका र १४ लाख ८८ हजार फर्केका छन्। विभागका अनुसार ५० प्रतिशत नेपाली वैदेशिक रोजगारका लागि गएका हुन्। त्यसपछि पर्यटन वा तीर्थयात्राका लागि साढे १३ प्रतिशत र अध्ययनका लागि करिब ८ प्रतिशत गएका बताएका छन्। “परिवार भेटघाट र व्यापारजस्ता अन्य प्रयोजनका लागि पनि विदेश जाने नेपालीहरू छन्,” विभागका प्रवक्ता ढकालले बताए।
विदेशका लगभग डेढ सय देशमा जान नेपालीहरूले पूर्व प्रवेश अनुमति लिनुपर्दछ, धेरैले अनअराइभल भिसा पाउँछन् र केहीले फ्रि भिसा पाउने प्रणाली छ।






