
चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा १७ करोड ८६ लाख रुपैयाँ लागतमा विद्युत् तार भूमिगत गर्ने काम अघि बढिरहेको छ। नेपाल विद्युत् प्राधिकरणका प्रमुख जितेन्द्रकुमार झाल्ले पुरानो आठ मेगावाट तारमा समस्या देखिएपछि २५ मेगावाट क्षमताको नयाँ तार बिछ्याउने जानकारी दिएका छन्। वैशाख ७ गते ठेक्का सम्झौता भएको यो आयोजनाको काम वर्षात सकिएपछि तीव्र गतिमा अघि बढ्ने कार्यालयले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने कार्य सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम सुरु भएको हो। लगभग रु १७ करोड ८६ लाखको लागतमा २५ मेगावाट विद्युत् प्रवाहका लागि शारदा एण्ड सुम्नीमा भिसान जेभीले काम अघि बढाएको छ। हालको भूमिगत विद्युतीकरणमा समस्या देखा परेकाले पुनः नयाँ भूमिगत विद्युतीकरण गर्ने तयारी भइरहेको विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले जनाएको छ।
पहिलो भूमिगत तार आठ मेगावाट क्षमताको भएकाले पटकपटक समस्या देखिएका कारण नयाँ तार बिछ्याउने योजना गरिएको कार्यालय प्रमुख जितेन्द्रकुमार झाले बताए। उनले भने, “पुरानो तार राखिएको ठाउँबाट नभई नयाँ भूमिगत विद्युतीकरण गर्ने काम भइरहेको छ।” समय-समयमा विद्युत् प्रवाहमा समस्या आउँदा समस्याको पहिचानमा लामो समय लाग्ने भएकाले नयाँ भूमिगत विद्युतीकरण गर्न लागिएको उनले जानकारी दिए। ठेक्का सम्झौतासँगै ठेकेदार कम्पनीले विद्युत् तारको नक्साङ्कन कार्य सम्पन्न गरी २५ मेगावाट क्षमताको तार खरिद प्रक्रियामा रहेको पनि उनले बताए।
माडीमा नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले विद्युत् प्रसारण गर्दै आएको छ। सो वितरण केन्द्रका प्रमुख रुद्रराज विष्टका अनुसार त्यहाँ ११ हजार ७०० ग्राहक छन्, जो मुख्यतः घरेलु तथा सिँचाइका लागि विद्युत् उपभोग गर्छन्। जिल्लाको माडी नगरपालिकालाई चारैतिर जंगलले घेरिएको छ र अधिकांश भाग चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्छ। माडीवासीहरूले सदरमुकाम भरतपुर आउजाउ गर्न निकुञ्जकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। वैशाख ७ गते नौ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपछि यो काम अघि बढेको हो।






