यालुङ री हिमपहिरो: ९ महिनापछि दोलखाको हिमालमा पाँच जनाको शव फेला, प्रतिकूल मौसमबीच किन गरियो सङ्कलन?

दोलखाको यालुङ री हिमालको हिमपहिरोमा गत वर्षको कात्तिकदेखि हराएका पाँच जना आरोही तथा शेर्पा गाइडको शव गत साता ‘हिउँ पग्लिएर’ सतहमा देखिएपछि आइतवार सङ्कलन गरिएको उद्धारकर्ता र अधिकारीहरूले बताएका छन्। आरोही तथा हेलिकप्टर उद्धारकर्ताहरूको समूहले ‘ट्रेकिङ पीक’का रूपमा चिनिने उक्त हिमालको चुचुरो नजिकैबाट ती शवहरू सङ्कलन गरिएको बीबीसीलाई बताएका छन्। उक्त शव दोलखाको ना गाउँमा ल्याइएको उनीहरूले बताएका छन्।
“जीवनको आशा मारे पनि महिनौँदेखि शवको खोजी रोकिएको थिएन। अन्ततः बारम्बारको प्रयासपछि उनीहरूका परिवारले शव पाउन सक्ने भएका छन्,” उद्धारमा संलग्न आरोही फुर्वा तेञ्जिङ शेर्पाले ना गाउँबाट बीबीसीसँग भने। “गत साताको अन्तिम तिरै केही स्थानीयबासीले शव देखिएजस्तो भनेर जानकारी दिएका थिए। तर त्यसपछि पनि मौसम अनुकूल नहुँदा त्यहाँ पुग्न समस्या भएको थियो। आइतवार बिहान छोटो समयका लागि खुलेको मौसमबीच छिटोछिटो शव तल झार्ने काम सम्भव भयो।”
हराउनेमा दुई जना नेपाली र तीन जना विदेशी नागरिक थिए। हाल शव फेला पारिएकाहरू गाइडको रूपमा गएका दुई जना नेपाली र बाँकी आरोहीका रूपमा गएका जर्मन, इटली र क्यानडाका नागरिकहरू भएको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रवक्ताले जनाएका छन्। “सबैको शव पहिचान गर्न सकिने अवस्थामा रहेको विवरण आएको छ,” प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले भने। “यससँगै उक्त विपद्मा ज्यान गुमाउने सबैको शव प्राप्त भएको छ।”
हिउँ पग्लिँदा ‘दुर्लभ’ रूपमा शव देखिएरोल्वालिङ उपत्यकामा करिब ९ महिनाअघि भएको उक्त विपद् लगत्तै इटली र फ्रान्सका दुई जना आरोहीको शव भेटिए तापनि अन्य बेपत्ता भएका थिए। उनीहरू ६,३३२ मिटर अग्लो डोल्मा खाङ हिमाल आरोहण गर्नुअघि पूर्वाभ्यासका क्रममा यालुङ री पुगेका थिए।






