
भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा दुई दिनमै ५५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्। विभिन्न अटोमोबाइल कम्पनीहरूले एक्स्पोको अवसरमा भारी नगद छुट, निःशुल्क बीमा र लक्की ड्रमार्फत आकर्षक उपहार योजना सार्वजनिक गरेका छन्। टाटा, निसान, एमजी र होन्डालगायतका ब्रान्डहरूले एक्स्पोमा नयाँ मोडलका सवारीसाधन प्रदर्शनीमा राखी विशेष छुट र विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएका छन्। २८ साउन, काठमाडौं।
नयाँ गाडी, मोटरसाइकल वा स्कुटर किन्ने सोच बनाइरहनुभएको छ? कुन ब्रान्ड छान्ने र कहाँबाट किन्दा बढी फाइदा हुन्छ भन्ने विषयमा दुविधामा हुनुहुन्छ? त्यसो भए अहिले काठमाडौंको भृकुटीमण्डप तपाईंका लागि सबैभन्दा उपयुक्त गन्तव्य बन्न सक्छ। मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ अहिले अटोमोबाइल पारखी र नयाँ गाडी खरिदकर्ताहरूको प्रमुख आकर्षणको केन्द्र बन्दैछ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भइरहेको यस महामेलामा सुरुवाती दुई दिनमै ५५ हजार भन्दा बढी दर्शकले अवलोकन गरिसकेका छन्। आयोजकका अनुसार पहिलो दिन २९ हजार र दोस्रो दिन २६ हजार आगन्तुक मेलास्थल पुगेका थिए। मेला अवधिभरि करिब डेढ लाख दर्शक भित्र्याउने आयोजकको लक्ष्य पूरा हुने देखिन्छ।
तर, यो एक्स्पो केवल गाडी हेर्ने र फर्किनेहरूको भिड मात्र होइन। मेलास्थलमा पुग्ने जो कोहीले महसुस गर्न सक्छन्—यहाँ अवलोकनकर्ताहरू आफूलाई मन परेको कार तथा स्कुटर छानी-छानी बुकिङ गरिरहेका छन्। यसको मुख्य कारण हो—अटोमोबाइल कम्पनीहरूले ग्राहक तान्न प्रस्तुत गरेका लोभलाग्दा छुट, क्यास ब्याक, एक्स्चेन्ज बोनस, रमाइला खेलहरू र आकर्षक उपहारहरू।






