
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन्। विश्वविद्यालयका पूर्वविद्यार्थी रहेका बराल विद्यार्थी, प्राध्यापक हुँदै उपकुलपतिको जिम्मेवारी सम्हाल्ने पहिलो व्यक्ति बनेका छन्। उनले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउँदै अनुसन्धान र प्रविधिमैत्री प्रशासनमा जोड दिने योजना सार्वजनिक गरेका छन्।
बरालले भने, “यो मेरो व्यक्तिगत उपलब्धि भन्दा पनि काठमाडौं विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई दिएको अवसर र संस्कारको नतिजा हो।” उनले विद्यार्थी जीवनमा विश्वविद्यालयको शैक्षिक वातावरण र संस्कृति नजिकबाट अनुभव गरेको र त्यही विश्वविद्यालयमा अध्यापन, अनुसन्धान र प्रशासनका जिम्मेवारी लिएका छन्। उनले उपकुलपतिमा नियुक्त भएर विश्वविद्यालयलाई अझ मजबुत बनाउने, यसको प्रतिष्ठा कायम राख्ने र भविष्यका पुस्ताका लागि उत्कृष्ट विश्वविद्यालय बनाउने जिम्मेवारीको रूपमा लिएको बताए।
बरालले केयूको आकार, पहुँच र कार्यक्रमहरूको विस्तार भएको उल्लेख गर्दै भने, “तर विस्तारसँगै चुनौतीहरू पनि बढेका छन्।” उनले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टिक्न सक्ने, प्रभावकारी अनुसन्धान गर्ने र देश विकासमा प्रत्यक्ष योगदान दिन सक्ने बनाउनु पर्ने आवश्यकता औंल्याए।
उनले शैक्षिक उत्कृष्टता, अनुसन्धान र नवप्रवर्तनमा जोड दिने, अन्तर्राष्ट्रियकरण र डिजिटल रूपान्तरणका लागि योजना बनाएको जानकारी दिए। बरालले भने, “मेरो लक्ष्य केयूलाई नेपालमै मात्र नभई दक्षिण एसियामा विशिष्ट पहिचान बनाउन सक्ने विश्वविद्यालयका रूपमा विकास गर्नु हो।”






