Skip to main content

एनएसएसएफ र कराते महासंघ बीच सहकार्य सम्झौता भयो

नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल कराते महासंघबीच विद्यालयस्तरमा करातेको प्रवद्र्धन, विकास र विस्तारका लागि सहकार्य सम्झौता भएको छ। मंगलबार आयोजित कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे। यस सहकार्यले एनएसएसएफ र अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट फेडेरेसनका प्रतियोगितामा करातेको सहभागिता अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

२ भदौ, काठमाडौं। नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र नेपाल कराते महासंघबीच सहकार्य सम्झौता भएको छ। यस सहकार्यले विद्यालयस्तरमा करातेको प्रवद्र्धन, विकास र विस्तार गर्दै एनएसएसएफ तथा अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट फेडेरेसन (आईएसएफ) का प्रतियोगिताहरूमा करातेको सहभागिता थप प्रभावकारी बनाउने लक्ष्य राखिएको एनएसएसएफका महासचिव राजकुमार कार्कीले जानकारी दिए।

महासचिव कार्कीले भने, यो सम्झौता नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा करातेको विकास र विस्तारका लागि महत्वपूर्ण कदम हो। विद्यालय खेलाडीहरूका लागि ग्रासरुट विकास, नियमित प्रतियोगिता, प्रतिभा पहिचान, समान अवसर र अन्तर्राष्ट्रिय अनुभव मार्फत अनुशासित, आत्मविश्वासी र भविष्यका च्याम्पियन खेलाडी उत्पादनमा जोड दिइने उनले बताए।