Skip to main content

कम लागतमा अपनाउन सकिने स्वास्थ्यवर्द्धक बानीहरू

‘वेलनेश’ शब्द हालकाल लोकप्रिय भइसकेको छ र यो प्रायः ठूलो खर्चसँग जोडिएको हुन्छ। महँगो ‘स्पा’, पाँचतारे होटलमा आयोजना हुने ‘फ्लोटिङ साउन्ड ब्याथ’ वा ‘रिट्रिट’जस्ता महँगो गतिविधिहरु रमाइलो हुन सक्छन् यदि खर्च धान्न सकिन्छ भने। तर त्यस्तो खर्च धान्न नसक्नेहरूको लागि स्वास्थ्य विशेषज्ञ, उद्यमी तथा प्रभावशाली व्यक्तिहरूले सुझाएका, बिना खर्च वा कम खर्चमा शरीर र मनलाई स्वस्थ राख्न सकिने केही सरल उपायहरू यहाँ प्रस्तुत छन्।

स्वस्थ जीवनशैलीमा आधारित कार्यक्रमहरूमा सहभागी हुनुहोस्। ‘फिटनेस’ कक्षाहरूको सदस्यता महँगो हुन सक्ने भएकाले अहिले धेरैले निःशुल्क वा कम खर्चमा यस्ता सेसनहरू आयोजना गर्न थालेका छन्। यस्ता कार्यक्रमहरू प्रायः सामाजिक सञ्जालका स्थानीय समूहहरूमार्फत वा ‘मीटअप’ जस्ता प्लेटफर्ममा भेट्न सकिन्छ। उदाहरणका लागि, योग प्रशिक्षक अनास्तासिया मिरस्लाव्स्काले लन्डनमा ‘सन्डे रिसेट’ नामक ‘मीटअप’ कार्यक्रम आयोजना गर्छिन् जसमा हरेक महिना फरक-फरक सहरका पार्कहरूमा भेटेर योग र ध्यान गरिन्छ। उनीहरू ‘जूम’मार्फत पनि यसका ध्यान र योग सत्रमा सहभागी हुन्छन्। केही सत्रमा दुई हजार रुपैयाँ जति शुल्क लाग्छ भने केही निःशुल्क हुन्छन्। “म यो चाहन्थें कि मानिसहरूले सरल र सहज तरिकाले योग र ध्यानको अनुभव लिन सकुन्,” उनले भनिन्।

मोडल एरिका कोरियाले लिभरपुलमा ‘सफ्टी सन्डे’ नामक नियमित भेटघाट कार्यक्रम सुरु गरेकी छन्, जसमा सहभागीहरूले विशेष रुपमा तयार गरिएको स्वास्थ्यवर्द्धक कार्यक्रम अनुभव गर्छन्। पछिल्लो सत्रमा ‘पिलाटेस’ कक्षा र सौन्दर्यसम्बन्धी कार्यक्रम पनि समावेश थियो। ‘पिलाटेस’मा शरीरको पोज र श्वासप्रश्वासका हलुका अभ्यास गरिन्छ। “‘सफ्टी सन्डे’मा खर्च भन्दा उद्देश्यलाई प्राथमिकता दिइन्छ,” उनले भनिन्। “स्वस्थ जीवनशैली भन्नाले जीवनका निर्णय र आफ्नो समयको सुरक्षा कसरी गर्ने भन्ने कुरामा बढी जोड दिन्छ।” यी कार्यक्रमहरू हाल निम्तो प्राप्त व्यक्तिहरूका लागि मात्र खुल्ला छन् तर कोरियाले चाँडै थप मानिसहरूका लागि खुला हुने आशा राख्नु भएको छ।

बगैँचा (गार्डेनिङ) सुरु गर्नुहोस् – बगैँचा नभए पनि बगैँचामा काम गर्नुले शारीरिक र मानसिक स्वास्थ्यमा लाभ पुर्‍याउँछ। यसका लागि हजारौँ रुपैयाँ खर्च गर्नु आवश्यक छैन। ‘रायल हर्टिकल्चरल सोसाइटी (RHS)’ को अनुसन्धानले दैनिक बगैँचामा काम गर्नेहरूमा उच्च मानसिक सन्तुष्टि र कम तनाव देखाएको छ। यदि आफ्नो बगैँचा छैन भने सामुदायिक बगैँचाको विकल्प खोज्न सकिन्छ। धेरै सामुदायिक बगैँचा स्वयंसेवकहरूसँग निःशुल्क सेवा लिन्छन् र उपकरणहरू पनि उपलब्ध गराउँछन्। यसले नयाँ मानिसहरूसँग भेटघाट र नयाँ सीप सिक्न पनि मद्दत गर्छ।

परोपकारी संस्था ‘थ्राइभ’ का अनुसार सामुदायिक बगैँचा केवल बोटबिरुवा उमार्नको मात्र ठाउँ होइन। यसले “बगैँचामा काम गर्न र मित्रतापूर्ण सामाजिक समूहसँग जोडिन” अवसर प्रदान गर्दछ, संस्थाका ‘प्रशिक्षण, शिक्षा तथा परामर्श’ व्यवस्थापक डेमिन न्युम्यानले बताए। “यो शारीरिक, संज्ञानात्मक, सामाजिक, मनोवैज्ञानिक र भावनात्मक सबै आयाममा हाम्रो स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्छ,” उनले भने।