व्यापार युद्धमा अमेरिका–क्यानडा: ट्रम्पको ५० प्रतिशत ट्यारिफको जवाफमा कार्नीको ‘डलर–फर–डलर’ प्रतिक्रिया

समाचार सारांश डलर–फर–डलर जवाफ सहित कार्नीको कडा प्रतिक्रिया अमेरिका र क्यानडाबीच व्यापार सम्झौता गर्ने अन्तिम प्रयास असफल भएपछि अमेरिकाले क्यानडाबाट आयात हुने करिब २० अर्ब डलरका सामानमा ५० प्रतिशत ट्यारिफ लगाएको छ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले लगाएको ट्यारिफको ‘डलर–फर–डलर’ जवाफ दिने र सेप्टेम्बर ८ देखि जवाफी कर लगाउने घोषणा गरेका छन्। कार्नीले अमेरिकाले वार्तामा ‘धेरै माग गरेको र बदलामा निकै कम प्रस्ताव गरेको’ भन्दै दुई देशबीच ‘व्यापार युद्धको अवस्था’ बनेको बताएका छन्। ७ भदौ, काठमाडौं। अमेरिका र क्यानडाबीच व्यापार सम्झौता गर्ने अन्तिम प्रयास असफल भएको छ। यसपछि दुई छिमेकी मुलुकबीचको व्यापार विवाद थप चर्किएको छ। अमेरिकाले शुक्रबार राति भएको वार्ता असफल भएपछि क्यानडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा ५० प्रतिशत नयाँ ट्यारिफ लगाएको थियो। यो क्यानडाबाट अमेरिकातर्फ हुने कुल आयातको करिब ५ प्रतिशत हो। त्यसको जवाफमा क्यानडाले सेप्टेम्बर ८ देखि जवाफी कर लगाउने घोषणा गरेको छ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले शनिबार देशवासीलाई सम्बोधन गर्दै अमेरिकाले लगाएको ट्यारिफको ‘डलर–फर–डलर’ जवाफ दिने घोषणा गरेका छन्। प्रधानमन्त्री कार्नीले अमेरिकाले क्यानडामाथि लगाएको नयाँ ट्यारिफलाई ‘ठूलो गलत आकलन’ भन्दै यसको उद्देश्य क्यानडालाई आर्थिक रूपमा कमजोर बनाउने र विभाजित गर्ने रहेको आरोप लगाएका छन्। उनले दुई देशबीच अहिले ‘व्यापार युद्धको अवस्था’ सिर्जना भएको बताएका छन्। साथै अमेरिकाले वार्तामा ‘धेरै माग गरेको र बदलामा निकै कम प्रस्ताव गरेको’ उनले बताएका छन्। स्टिल, इलेक्ट्रोनिक्स, डेरी उत्पादन, घरेलु उपकरणलगायत अमेरिकी सामानमा जवाफी कर लगाइने कार्नीले बताएका छन्। क्यानडेली सरकारले अमेरिकी ट्यारिफबाट प्रभावित कामदार तथा व्यवसायलाई सहयोग गर्न थप उपायसमेत घोषणा गर्ने जनाएको छ। यसअघि पछिल्लो १८ महिनामा सरकारले करिब २५ अर्ब क्यानडेली डलर बराबरको सहयोग उपलब्ध गराइसकेको बताएको छ। कुन सामानमा अमेरिकाले लगायो ५० प्रतिशत कर? नयाँ अमेरिकी ट्यारिफ क्यानडाबाट आयात हुने करिब २० अर्ब डलर बराबरका सामानमा लागू भएको छ। यसअन्तर्गत मदिरा, डेरी उत्पादन, सिमेन्ट, कपडा, हकीका सामग्री, केही इलेक्ट्रोनिक तथा कागजजन्य उत्पादनलगायत छन्। तर ऊर्जा, पोटास र माछालगायत केही प्रमुख क्यानडेली निर्यात भने नयाँ ट्यारिफबाट बाहिर राखिएका छन्। यसअघि नै स्टील, आल्मुनियम, अटोमोबाइल र काठजन्य उत्पादनमा लगाइएका अमेरिकी ट्यारिफ भने यथावत् छन्। अन्तिम समयमा बिग्रियो वार्ता अमेरिका र क्यानडाबीच पछिल्ला केही सातादेखि व्यापारसम्बन्धी गम्भीर वार्ता भइरहेका थिए। अगस्ट १८ मा कार्नीले वार्तामा उल्लेखनीय प्रगति भएको बताएका थिए। त्यसबेला अमेरिकाले ५० प्रतिशत ट्यारिफ लागु गर्ने समयसमेत अगस्ट २१ को अन्त्यसम्मका लागि स्थगित गरेको थियो। तर अन्तिम चरणमा दुवै पक्षबीच सहमति हुन सकेन। क्यानडाले अमेरिकामाथि अन्तिम समयमा अनुचित र थप सर्तहरू राखेको आरोप लगाएको छ। अमेरिकाको प्रस्तावमा क्यानडाले अन्य देशहरूसँग नयाँ व्यापार सम्झौता गर्ने क्षमतामा सीमितता र मध्यम तथा भारी ट्रकसम्बन्धी व्यापारमा प्रतिकूल प्रावधानहरू रहेको क्यानडेली पक्षको दाबी छ। अमेरिकाले भने क्यानडाले अमेरिकी वस्तुमाथि भेदभाव गरेको दाबी गर्दै नयाँ ट्यारिफको बचाउ गरेको छ। अमेरिका–क्यानडा व्यापार सम्बन्धमा ठूलो धक्का अमेरिका र क्यानडा लामो समयदेखि घनिष्ठ आर्थिक तथा राजनीतिक साझेदार हुन्। डोनाल्ड ट्रम्पको पछिल्लो कार्यकाल सुरु भएयता दुई देशबीच ट्यारिफलाई लिएर लगातार तनाव बढ्दै आएको छ। सन् २०२५ देखि सुरु भएको व्यापार विवादमा स्टील, आल्मुनियम, अटोमोबाइललगायत विभिन्न क्षेत्रमा अमेरिकाले अतिरिक्त कर लगाएपछि क्यानडाले पनि जवाफी कदम चाल्दै आएको छ। नयाँ ५० प्रतिशत ट्यारिफले दुई देशबीचको व्यापार सम्बन्धलाई थप जटिल बनाएको छ। विश्लेषकहरूले यो विवाद लामो समयसम्म कायम रहँदा सीमापार व्यापार, उद्योग र उपभोक्ता मूल्यमा समेत असर पर्न सक्ने बताएका छन्। कार्नीले भने अमेरिकासँगको निर्भरता घटाउँदै अन्य देशसँग व्यापारिक सम्बन्ध विस्तार गर्ने बताएका छन्। उनका अनुसार क्यानडाले हालसम्म २० भन्दा बढी नयाँ आर्थिक तथा सुरक्षा साझेदारी अघि बढाइसकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने व्यापार वार्ता असफल भएपछि कार्नीको पछिल्लो वक्तव्यबारे अहिलेसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। अमेरिका र क्यानडाबीचको व्यापार सम्झौता पुन: वार्तामा जाने स्पष्ट समयतालिका पनि तत्काल देखिएको छैन। यसका साथ साथै उत्तर अमेरिकाका यी दुई प्रमुख व्यापारिक साझेदारबीचको सम्बन्ध आगामी दिनमा कुन दिशामा जाने भन्ने विषयमा अनिश्चितता बढेको छ।






