Skip to main content

जिमी नीशम जनकपुर बोल्ट्समा पुनः फर्किए

न्युजिल्यान्डका बहुआयामी खेलाडी जिमी नीशम नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा पुनः फर्किएका छन्। जनकपुरले मंगलबार सामाजिक सञ्जालमार्फत ३५ वर्षीय नीशमलाई अनुबन्ध गरिएको जानकारी दिएको छ। नीशमले २०२४ को पहिलो सिजनमा ९ खेल खेल्दै २४७ रन बनाउने र ७ विकेट लिने क्रममा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिएका थिए।

जनकपुर टोलीले मंगलबार सामाजिक सञ्जालमार्फत ३५ वर्षे नीशमलाई अनुबन्ध गरेको पुष्टि गर्‍यो। उनी २०२४ को पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनले ९ खेलमा १९६ भन्दा बढी स्ट्राइक रेट र ३५ भन्दा बढी औसतमा २४७ रन तयार पारेका थिए। सर्वाधिक स्ट्राइक रेटनिर्माण गर्दै उनको नाम पहिलो सिजनको एनपीएलमा उत्कृष्ट स्ट्राइक रेट अवार्डमा पनि परेको थियो।

पहिलो सिजनमा जनकपुरबाट खेल्दा उनले ७ विकेट पनि लिएर टोलीमा ठूलो सहयोग पुर्‍याएका साथै समर्थकहरू माझ अत्यन्त लोकप्रिय भएका थिए। जनकपुरका सीईओ निरोज खतिवडाले भने, “जिमीले मैदानमा मात्र होइन, हाम्रा समर्थकहरूको हृदयमा पनि विशेष स्थान बनाएका छन्। उनकाे निष्ठा र जनकपुर बोल्ट्ससँगको सम्बद्धता आफैंमा एक सुन्दर कथा हो। च्याम्पियन बनेको पहिलो सिजनको त्यो नायक आज फेरि आफ्नो घर फर्किएका छन्।”

तर दोस्रो सिजनमा जनकपुरसँग ‘क्याप’ खेलाडीको कोटा नहुँदा उनले पोखरा एभेन्जर्सको प्रतिनिधित्व गरेका थिए। त्यहाँ ४ खेलमा खेलेर एक अर्धशतकसहित ९९ रन बनाएका र ५ विकेट लिए। यसपटक नीशमले टेस्ट कोटामा जनकपुरबाट खेल्ने छन। उनले न्युजिल्यान्डबाट १२ टेस्ट, ७६ एकदिवसीय अन्तर्राष्ट्रिय र १०५ टी–२० अन्तर्राष्ट्रिय खेल अनुभव गरिसकेका छन्। फेब्रुअरीमा उनले न्युजिल्यान्डबाट भारतविरुद्ध टी–२० विश्वकप फाइनल समेत खेलेका थिए। नीशम विश्वव्यापी फ्रेन्चाइज लिगहरूमा सक्रिय सहभागी हुन्। उनले दिल्ली डेयरडेभिल्स, पञ्जाब किंग्स, मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिग खेलेका छन् भने लंका प्रिमियर लिग, भाइटालिस्ट ब्लास्ट, बंगलादेश प्रिमियर लिग, यूएईको आइएल टी–२०, पाकिस्तान सुपर लिग, साउथ अफ्रिका टी–२०, द हन्ड्रेड, बिग बास लिग र क्यारिबियन प्रिमियर लिगमा पनि खेलिसकेका छन्। दुई वर्ष अघि जनकपुरलाई च्याम्पियन बनाउनु उनको फ्रेन्चाइज क्रिकेटमा पहिलो उपाधि थियो।