
एसीसी प्रिमियर कपको तयारी अन्तर्गत भएको अभ्यास खेलमा मलेसियाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा २३२ रनमा सबै विकेट गुमायो। मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले ६१ रन जोड्न सफल भए। सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० तथा विरानदीप सिंहले ३९ रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ३६ रन दिएर ४ विकेट लिए। करण केसीले २ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए। नेपालले मलेसिया आउनुअघि भारतमा कर्नाटकसँग दुई अभ्यास खेल जितेको थियो।






