मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायरलाई अन्नपूर्ण स्पाइकर किंग्सले अनुबन्ध गर्यो नेपाल भलिबल लिगका लागि

अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिगका लागि मंगोलिया राष्ट्रिय टोलीका आउटसाइड हिटर उरानबायर मंखबायरलाई अनुबन्ध गरेको छ। २१ वर्षीय उरानबायरले एसियन इस्टर्न जोनल मेन्स भलिबल च्याम्पियनसिपमा मंगोलियालाई कांस्य पदक दिलाउँदै उत्कृष्ट सर्भरको अवार्ड जितेका थिए। नेपाल भलिबल लिगको पहिलो संस्करण भदौ १९ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरको कभर्डहलमा हुने तय भएको छ।
मंगोलियाका राष्ट्रिय भलिबल टोलीका आउटसाइड हिटर उरानबायर मंखबायरलाई अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल)का लागि अनुबन्ध गरेको हो। नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज लिगका लागि अन्नपूर्ण स्पाइकर किंग्सले मंगोलियाका चर्चित स्पाइकर उरानबायरलाई टोलीमा समावेश गरेको छ। क्लबले भनेको छ कि उरानबायरको सहभागिताले टिमको आक्रमण क्षमता थप बलियो, प्रभावकारी र सन्तुलित हुने विश्वास गरिएको छ।
उरानबायर मंगोलियाको राष्ट्रिय टिमका प्रमुख सदस्य हुन्। उनले एसियन इस्टर्न जोनल मेन्स भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट सर्भर अवार्ड पाएका थिए। ६ फिट ६ इन्च अग्ला उरानबायर आफ्नो शक्तिशाली स्पाइक र प्रभावकारी सर्भका लागि परिचित छन्। उनी मंगोलियाका विभिन्न क्लबमा साथै दक्षिण कोरियामा पनि भलिबल खेलेका छन्।
अन्नपूर्ण स्पाइकर किंग्सले एनभीएलका लागि उरानबायरलाई अनुबन्ध गरिएको पहिलो विदेशी खेलाडीको रूपमा प्रस्तुत गरेको छ। टोलीमा गण्डकी प्रदेशका अनुभवी र चर्चित खेलाडी रवी केसी, विश्वास अधिकारी, विवश आले, सुरेन्द्र केसी र लिबेरो जितबहादुर शार्की लगायत रहेका छन्। अन्नपूर्ण स्पाइकर किंग्सले पोखरामा आयोजित ट्यालेन्ट हन्टबाट किरण भण्डारीलाई पनि छनोट गरेको छ। नेपाल भलिबल लिगका नियमअनुसार प्रत्येक फ्रेन्चाइज टोलीले ट्यालेन्ट हन्टमार्फत एक जना युवा खेलाडी छनोट गर्नुपर्ने व्यवस्था रहेको छ।






