भोटेकोशी-त्रिशूली बाढी: जोखिम थाहा हुँदाहुँदै किन छन् नदीकिनारमा बाक्ला मानवबस्ती

बुधवार रसुवाको भोटेकोशी हुँदै अघि बढेको भीषण बाढीले आफ्नो बाटोमा परेका घर, सडक, सवारीसाधन, पुललगायतका संरचनाहरूलाई व्यापक चपेटामा पार्दै कल्पनै नगरिएको विनाश मच्चायो। नेपाल-चीन सीमाको रसुवागढी नाकाका ठूल्ठूला संरचनाहरूलाई सखाप पार्दै अघि बढेको वेगवान् बाढी धादिङको गल्छी पार गरेपछि मात्रै केही सुस्ताएको देखियो। यसले क्रमशः रसुवाको टिमुरे र स्याफ्रुबेँसी हुँदै नुवाकोटका त्रिशूली, बेत्रावती, देवीघाटलगायतका बजार तथा नदीको बाटोमा रहेका मानवबस्तीहरूलाई तहसनहस पार्यो। अहिलेको विनाशकारी बाढीसँगै नदीकिनारका कतिपय बस्तीको अवस्थितिबारे पुनर्विचार गर्नुपर्ने र त्यस्ता स्थानमा नयाँ भवन तथा संरचना निर्माण गर्दा हाल देखिएजस्ता प्राकृतिक चुनौतीलाई पनि गम्भीर रूपमा ध्यान दिनुपर्ने अवस्था देखिएको विश्लेषण हुन थालेको छ।
पूर्वाधार विकास मन्त्रालयका अधिकारीहरूका अनुसार अहिले नदीकिनारमा घर तथा अन्य संरचना बनाउन पाइने वा नपाइने विषयमा व्यापक वा ठोस सरकारी नीति छैन। “नदीको बहाव क्षेत्रभित्र वा नदीकिनारबाट यति छाड्ने भन्ने चाहिँ काठमाण्डू उपत्यकामा हो (बागमती नदीको दायाँबायाँ २०/२० मिटरमा संरचना बनाउन नपाइने) तर त्यसबाहिर त्यस्तो भएजस्तो मलाई लाग्दैन,” उक्त मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले भने। यद्यपि यसपटकको बाढीको स्तर कल्पनै गर्न नसकिने किसिमको भएकामा विज्ञ तथा सरकारी अधिकारीहरू एकमत छन्। “यस्तो विगतमा कहिल्यै देखिएको थिएन। त्यसैले त्यस्ता नियमहरू भएको भए अहिलेको जस्तो बाढीबाट सबै सुरक्षित रहन्थे भन्ने त होइन तर कमसेकम सजिलोसँग त्यहाँबाट भाग्ने मौका भने पाउँथे। नदीमै जोडिएर घरहरू बनाउँदा कतिपयले भाग्ने पर्याप्त समय नपाएको देखियो,” नदी संरक्षण अभियानकर्मी मेघबहादुर घलेले भने।
नुवाकोटको त्रिशूली घर भएका ५९ वर्षीय महेन्द्र श्रेष्ठ शनिवार दिउँसो बीबीसीको सम्पर्कमा आउँदा परिवारका सदस्यहरूसहित उद्धारको पर्खाइमा हेलिकप्टर कुरेर बसिरहेका थिए। त्रिशूलीको किनारमा रहेको आफ्नो घर बुधवारको बाढीमा छिमेकका दर्जनौँ घरहरूसँगै बगेको उनले सुनाए। “परिवार जोगियो तर घर बाँकी रहेन। हामी बाढीपीडित भयौँ,” उनले भने। उनले यसअघि पनि उक्त नदीमा बाढी आएको नदेखेका होइनन्। बेलाबखत त्यसमा मानिसहरू बगेका खबरसमेत सुन्ने गरेका थिए। “तर नदीकिनारमा हाम्रो बसोबास पितापुर्खाकै पालादेखि हो र उहाँहरू व्यापारका निम्ति यहाँ आएर बस्नुभएको हो,” श्रेष्ठले भने, “चिसो पानी खान यो ठाउँमा बसेको भन्नुहुन्थ्यो किनकि नदीको माथिल्तिरको पहाडी क्षेत्रमा खानेपानीको समस्या थियो।”
विज्ञको ठम्याइ अनुसार, नदीकिनारमा मानिसहरू बसोबास गर्ने चलन नौलो नभए पनि सडक सञ्जालको विस्तारसँगै बस्ती बाक्लिने क्रम बढेको छ। नेपालका कतिपय समथल तथा बेँसी क्षेत्रका सडकहरू नदीकिनार हुँदै पार भएका उनीहरू बताउँछन्। त्यसमाथि भौगोलिक बनावटले पनि मानिसहरूलाई उपत्यका तथा समथल क्षेत्रमा बसोबास गर्न बढी प्रोत्साहित गर्ने गरेको राष्ट्रिय योजना आयोगका भूतपूर्व उपाध्यक्ष जगदीशचन्द्र पोखरेलको ठम्याइ छ। “किनकि सबैभन्दा पहिलो त ‘कनेक्टिभिटी’का कारण मानिसहरूलाई त्यहाँ सजिलो हुन्छ। आधुनिक आर्थिक गतिविधि पनि पहाडतिर छरिएर नभई त्यस्तै ठाउँमा हुन्छन्। सबैतिर भइरहेको त्यही हो।”






