Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

मंगोलियाका अपोजिट हिटर इंख एर्डेन अन्नपूर्ण स्पाइकर किंग्समा गरिएको अनुबन्ध

Advertisement800×200-1

१४ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि मंगोलिया राष्ट्रिय भलिबल टिमका अपोजित हिटर इंख एर्डेन जारगालसोट (एडी)लाई अनुबन्ध गरेको छ। नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि मंगोलियाका इंख एर्डेनलाई अनुबन्ध गर्न पाउँदा अन्नपूर्ण स्पाइकर किंग्स उत्साहित छन्। अन्नपूर्ण स्पाइकर किंग्सले एनभीएलका लागि अनुबन्ध गरेको इंख दोस्रो मंगोलियन खेलाडी हुन्। यसअघि नै अन्नपूर्णले मंगोलिया राष्ट्रिय टिममा स्टार आउटसाइड हिटर उरानबायर मंखबायरलाई अनुबन्ध गरिसकेको छ।

२६ वर्षीय अपोजित हिटर इंख एर्डेन मंगोलिया राष्ट्रिय टिमका सदस्य हुन्। उनीसँग मंगोलियाको लिगदेखि दक्षिण कोरिया र इराकमा समेत क्लब स्तरमा खेल्ने अनुभव छ। उनले केही समयअघि मात्र घरेलु कोर्टमा सम्पन्न एसियन इस्टर्न जोनल मेन्स भलिबल च्याम्पियनसिपमा मंगोलियालाई कांस्य पदक दिलाउन महत्वपूर्ण प्रदर्शन गरेका थिए। ६ फुट ६ इन्च अग्ला इंख एर्डेनको आगमनले अन्नपूर्ण स्पाइकर किंग्सको आक्रमण लाइन अझै मजबुत र सन्तुलित हुने विश्वास गरिएको छ। उनले सन् २०२२ मा मंगोलियाको मिनजित बुल्गान र २०२४ मा एसजी हव्कसबाट खेलेका थिए र दुवै पटक मंगोलिया प्रिमियर लिगमा कांस्य पदक जितेका थिए।

उनी दक्षिण कोरियाको दाइजिओन सामसुङ ब्लुफाङ्ग्स र सुवन केप्को भिक्स्टोर्मबाट पनि खेलेका छन् भने इराकको मासाफी अलसेमालबाट खेलिसकेका छन्।

अन्नपूर्ण स्पाइकर किंग्सले एनभीएलका लागि मंगोलियाका दुई खेलाडी अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ। साथै अब बाँकी रहेको अर्को विदेशी खेलाडी पनि छिट्टै घोषणा हुने छ। गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल भलिबल लिगमा प्रतिस्पर्धा गर्न लागेको यस टिममा गण्डकीकै मिडल ब्लकर हिमाल सुनारी मार्की खेलाडीको रुपमा छन्।

गण्डकी प्रदेशकै रमेश केसी टिमका मुख्य प्रशिक्षक छन् भने नेपाली पुरुष राष्ट्रिय टिमका पूर्व खेलाडी तथा त्रिभुवन आर्मी क्लबका पूर्व खेलाडी तथा हालका प्रशिक्षक नरेन्द्र गिरी सहायक प्रशिक्षकको रुपमा छन्। केही समयअघि काभा पुरुष भलिबल च्याम्पियनसिपबाट राष्ट्रिय टिममा डेब्यु गरेका राजेन्द्र धामी पनि यस टिममा छन्। टिमका अन्य खेलाडीहरुमा गण्डकी प्रदेशकै चर्चित खेलाडी रबी केसीदेखि विश्वास अधिकारी, विवश आले, सुरेन्द्र केसी रहेका छन्। यस्तै उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका लिबेरो जित बहादुर शार्की र देव राना पनि टिममा छन्।

गण्डकीले युवा खेलाडीहरुलाई समेत स्थान दिने उद्देश्यसहित ट्यालेन्ट हन्टबाट किरण भण्डारीलाई छनोट गरेको छ। हरेक टिमले ट्यालेन्ट हन्टबाट एक खेलाडी छनोट गर्नुपर्ने प्रावधान अनुसार अन्नपूर्ण स्पाइकर किंग्सले पोखरामा ट्यालेन्ट हन्ट आयोजना गर्दै किरणलाई छनोट गरेको हो।

स्वदेशी र विदेशी खेलाडीको मिश्रण तथा उत्कृष्ट कोचिङ स्टाफसहितको अन्नपूर्ण स्पाइकर किंग्सले पहिलो संस्करणको नेपाल भलिबल लिगमा उत्कृष्ट नतिजा ल्याउने लक्ष्य राखेको छ। नेपाल भलिबल लिग यही भदौ १९ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला हाताभित्रको कभर्ड हलमा हुनेछ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर