जोरायल गाउँपालिकाले बाढीपीडितका लागि राहत कोषमा ३३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरे

१८ भदौ, डोटी। जोरायल गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ३३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३३ लाख २८ हजार ६४१ रुपैयाँ सहयोग गरिने जानकारी गाउँपालिकाले दिएको छ।
सो रकम गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन कोषबाट दुई लाख ५५ हजार ५५५ रुपैयाँ, गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूको १५ दिन बराबरको सेवा सुविधाबाट प्राप्त हुने दुई लाख ७ हजार ९५२ रुपैयाँ, गाउँपालिकाका अधिकारीस्तरका कर्मचारीहरूले ७ दिन, सहायकस्तरका कर्मचारीहरूले ५ दिन, श्रेणीविहीन कर्मचारीहरूले २ दिनको तलब बराबरको ७ लाख ६० हजार ८४२ रुपैयाँ, शिक्षक तथा विद्यालय कर्मचारीहरूको तलबबाट २१ लाख ४ हजार २९३ रुपैयाँ गरी जम्मा गरिने बताइएको छ।
यसरी जम्मा भएको कुल ३३ लाख २८ हजार ६४१ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा हस्तान्तरण गरिने भन्ने जानकारी गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले दिएका छन्।






